झापा, असार २६ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनउ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

बुधबार बिहान ५ः१५ बजे बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो । दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन् । प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ ।

घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर गरिएको राठीले बताए । दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सूचना गरेपछि घाइतेहरूलाई अस्पताल पु¥याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको एक प्रहरी अधिकारीले बताए । क्षतिग्रस्त बस र दुध ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्