मेचीनगर,असार २६ । प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले अहिले सिंहदरबारको सरकारभन्दा स्थानीय सरकार जनताका लागि बढी आशावादी भएको बताएका छन् ।

सिंहदरबारको सरकार कतिखेर लड्छ, कतिपटक बिश्वासको मत लिनुपर्ने हो,कुनै टुङ्गो र स्थिरता नभएका कारण स्थानीयवासीले स्थानीय सरकारसँग बढी अपेक्षा गरिरहेको उनको भनाई थियो । यी सारा कुराले गर्दा स्थानीयवासीको भरपर्दाे माध्यम वा भरोसाको केन्द्रविन्दु नै स्थानीय सरकार भएकाले उनीहरुका हरेक कुराको सम्बोधन स्थानीय सरकारले गर्नुपर्ने शर्माको भनाई थियो । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय हुन जरुरी रहेको उनले बताए ।

बुधबार झापाको मेचीनगरमा काँकरभिट्टा सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रममा बोल्दैं कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शर्माले अहिले देशको अर्थतन्त्र निकै डामाडोल रहेको बताए । उनले सिंहदरबारको सरकार महिनैपिच्छे परिवर्तन भएपनि, छिनछिनमा सरकार बदलिएपनि देश विकास र जनतालाई समृद्ध बनाउनेतर्फ सबै एक ठाउँमा उभिनुपर्ने बताए ।स्थानीय सरकारका प्रमुख उपप्रमुख तथा जनप्रतिनिधिहरुले हरेक कुरामा समन्वय गरेपछि मात्र प्रदेश र प्रतिनिधि सभामा रहेका प्रतिनिधिहरुलाई काम गर्न सजिलो हुने उनको भनाई थियो ।

४ सय ५० घनमिटरको ओभरहेड ट्यांकीको शिलान्यास

मेचीनगर— ५ स्थित सिर्जना चोकमा काँकरभिट्टा सहलगानी आयोजनाअन्तर्गत चार सय ५० घनमिटरको ओभरहेड ट्यांकीको शिलान्यास भएको हो ।

मूल्य अभिवृद्धि करसहित कुल १० करोड ४८ लाख १९ हजार ४ सय ७७ रुपैयाँको लागतमा २०२४ जुन ६ तारिख ग्लोबल दिपेश जेभी कोटेश्वर ३२ काठमाडौंसँग सम्झौता भएको थियो । कुल लागतमध्ये एक करोड ३१ लाख रुपैयाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र नौं करोड १७ लाख १७ हजार ४२ रुपैयाँ संघीय सरकारले ब्यहोर्ने भएका छन् ।

उक्त रकमबाट एउटा चार सय ५० घनमिटर र अर्काे दुई सय २५ घनमिटरको गरी दुईवटा ओभरहेड ट्यांकी, चारवटा बोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाईन विस्तार र कार्यालय भवन निर्माण हुने छ । २०२६ डिसेम्बर ५ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्