झापा, असार २७ । असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंपछि झापामा डेंगु संक्रमण देखिएको हो । पुसयता देशभर १ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौंमा सर्वाधिक १ सय ६५ जना र त्यसपछि झापामा १ सय २३ जना संक्रमित देखिएका छन् । एक दशकअघिसम्म मनसुनपछि छिटपुट मात्र देखिने डेंगु अहिले मुलुकका ७७ जिल्लामै फैलिसकेको छ । वर्षभर नै देखिन थालेको डेंगु देशको कीटजन्य रोगको पहिलो सूचीमा परिसकेको छ भने संक्रमणको वृद्धिदर पनि तीव्र छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

गत वर्ष ७७ जिल्लामै संक्रमित फेला परेका थिए । तथ्यांकअनुसार २०८० पुस मसान्तसम्म ५२ हजार जनाभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको ज्यान गएको थियो । सुनसरीसहित देशका विभिन्न १० जिल्लामा प्रकोपकै रूपमा फैलिएको थियो । कुल संक्रमितको ८० प्रतिशतभन्दा बढी संक्रमित झापा ,सुनसरी, तनहुँ, कास्की, काठमाडौं, मोरङ, संखुवासभा, कैलाली, भक्तपुर र धादिङमा देखिएको थियो । २०७९ मा ५४ हजारभन्दा बढीलाई संक्रमित बनाएको डेंगुका कारण ८८ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा फाट्टफुट्ट डेंगु संक्रमित देखा परिरहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । उनको रोकथामका लागि स्थानीय पालिकाहरुसंगको समन्वयमा अभिमुखीकरण तथा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम संचालन भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्