झापा, असार २८ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन् । त्यसैगरी सोही सडकखण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आएपनि एउटा बसको केही भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हामफालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका थिए ।

त्यसैगरी सोही सडकखण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।पहिरो आएपछि नारायणगढ–मुग्लिन रातिदेखि बन्द भएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । बगाएको बसको अवस्थाबारे खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्