झापा,असार २८ । विराटनगर दुग्ध वितरण आयोजनाले किसानले बेचेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी नगरेको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो व्यक्त गरेका छन् ।

उनले दुग्ध वितरण आयोजनाका कर्मचारीलाई मुख्यमन्त्री कार्यालय बोलाएर किसानको पैसा भुक्तानीको लागि आग्रह गरेका हुन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरसाथै मधेस प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताएका छन् । आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेको चौधरीले जानकारी दिए ।

शुक्रवार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख चौधरीसहित कर्मचारीहरूलाई कार्यालयमा बोलाएर सो रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले केके गर्न सक्छ भन्ने विषयमा मुख्यमन्त्रीले छलफल गरेका थिए ।

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए । उनले आयोजनाको कार्य प्रगति, संस्थाको अवस्था र बजारका विषयमा छलफल गरेका थिए ।

उनले आयोजना सङ्घीय सरकारको संरचना भए पनि किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्