झापा,असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।


राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम २०८१ असार ३० गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । शुक्रबार प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानूनविद्हरुसँग छलफल गरेका थिए ।

संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसअघि दाहाल ०७९ पुस १० गते यही उपधाराको व्यवस्थाबमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्