झापा,असार २९ । झापाको बिर्तामोड रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ ।
हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरिएको शल्यक्रियामा संलग्न डाक्टर रुपेशजंग बेल्वासेले जानकारी दिए ।
झापा गौरादह ४ स्कुलचौनका ६१ वर्षीय यमनाथ संगौलाको हिपको जोर्नीको प्रतिस्थापन गरिएको हो । करिब ३ घण्टा लामो शल्यक्रियापश्चात संग्रौलाको खिइएको हिप फेरिएको हो ।
वंशाणुगत समस्याका कारण संग्रौलाको हड्डी खिइँदै गएको र अत्यधिक दुखाइका कारण हिँडडुलमा कठिन हुँदै आएको थियो । उनी पेनकिलर खाँदै आएका थिए ।
दक्ष चिकित्सकको टिम तथा आधुनिक प्रविधिबाट उनको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । बिर्तासिटीमै यस्तो शल्यक्रिया हुन थालेपछि बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको डाक्टर बेल्वासेले बताए ।
संगौलाको शल्यक्रियामा डाक्टर बेल्वासेसँगै डाक्टर कुमुदकुमार लिम्बू, डाक्टर प्रतिक चौधरी लगायत संलग्न रहेका थिए ।
हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डाक्टर हुन् बेलवासे ।
नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस गरेका डाक्टर बेल्वासेले सन् २०१८ मा बनारस हिन्दु विश्व विद्यालयबाट एमएस गरेका थिए ।
उनले हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको फेलोसिप अस्ट्रियाबाट गरेका हुन् । भारतको अपोलो अस्पताल नयाँ दिल्लीमा समेत काम गरेको उनमा अनुभव छ ।
बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा विगत साढे चार वर्षदेखि कार्यरत डाक्टर बेल्वासेले एओ ट्रमा फेलोसिप (स्विजरल्यान्ड) बाट छात्रवृत्ति प्राप्त गरेका थिए ।
युरोपबाट पाएको एओ ट्रमा फेलोसिप लिएका डक्टर बेल्वासेले जटिल रोगको समेत सरल तरिकाबाट उपचार गर्दै आएका छन् ।
बिर्तासिटी अस्पतालमा कार्यरत डाक्टर बेल्वासेले यसअघि पनि छिनेका हात जोडेका थिए । बिरामीको छिनेको हात शल्यक्रियाका माध्यमबाट जोडेर सफल उपचार गरेसँगै डक्टर बेल्वासेको चर्चा पूर्वमा चुलिएको थियो ।

डक्टर बेल्वासेले बिर्तासिटी अस्पतालमा हालसम्म पाँच हजारभन्दा धेरै बिरामीको सफल उपचार गरिसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्