बिर्तामोड, साउन २ । बिर्तामोड– ३ बिर्ताबजारमा कृषि तथा सामुदायिक भवन बन्न लागिसक्दा व्यवसायीहरु सर्ने टुंगो छैन ।
शिवालय मन्दिरको जग्गा ओगटेर बसेका व्यवसायीहरुले गत बैशाख महिनामै सर्नुपर्ने कागज गरेका थिए । तर,अहिलेसम्म सर्ने सुरसार नै गरेका छैनन् । भदौभरि सक्नेगरी आफूहरुले ९५ प्रतिशत निर्माण कार्य पूरा गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि सुदीप चौलागाँईले बताए । शिवालय आर. एस. जेभीले भ्याटसहित ५ करोड ५लाख रुपैयाँमा सो भवन निर्माण गर्ने जिम्मेवारी पाएको थियो । २०७८ असार संझौता गरेको कम्पनीले पाएको थप ६ महिनाको म्याद यही भदौ ३० गते सकिँदैछ ।‘भवन निर्माण भइसकेको छ ’ चौलागाँईले भने ,‘ अब वाइरिङको काम मात्र बाँकी छ । भदौभरि सबै काम पूरा हुन्छ ।’
भर्याङ छोप्नेसहितको तीन तले सो भवनमा एउटा सभाहल र ६३ वटा सटर रहेका छन् । भुँइतलामा अन्डरग्राउन्ड पार्किङ र तीन वटा तलामा व्यवसायिक प्रयोजनका कोठाहरु रहेका छन् । शिवालय मन्दिरको जग्गामा बसेका व्यवसायीहरुलाई छिटोभन्दा छिटो सार्ने पहल भइरहेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले निर्माण कम्पनीलाई काम छिटो सक्न लगाई व्यवसायीहरुलाई दशैअघि नै नयाँ भवनमा सर्न भनिसकेको जानकारी दिए ।
शिवालय मन्दिरको वरिपरि व्यवसायीहरुले ४४ वटा सटर निर्माण गरी विगत दुई वर्षदेखि व्यवसाय गर्दै आएका छन् । हाल भवन बनेको ठाउँमा टहरामा व्यवसाय गरेका ती व्यवसायीहरुलाई भवन बनिसकेपछि मन्दिरको जग्गा खाली गर्नेगरी मन्दिरमा व्यवसाय गर्न दिइएको थियो । मन्दिरमा आफै टहरा निर्माण गरी बिनाभाडा व्यवसाय गरिरहेका व्यवसायीहरुले नगरपालिकाले बनाएको भवनमा भने भाडा तिर्नुपर्ने भएकाले सर्न हतार गरिरहेका छैनन् । नयाँ भवनको लागि नगरपालिकाले भाडाको दररेट तोकिसकेको छैन । नगरपालिकाले सो भवन संचालन गर्ने जिम्मेवारी बजार व्यवस्थापन समिति बिर्ताबजारलाई दिने भएको छ । भवन बनिसकेकाले व्यवसायीहरुले सर्ने तयारी गर्नुपर्ने बजार व्यवस्थापन समितिका सचिव तुलसी ढकालले बताए । नगर प्रमुख पवित्रा महतारा प्रसाईले मन्दिरको जग्गा छिट्टै खाली गर्न भनिसकेकाले दशै अगाडि नै व्यवसायीहरुलाई त्यहाँबाट सारिने उनले जानकारी दिए ।
व्यवसायीहरुले वरिपरि व्यवसाय गर्दा पुरातात्विक महत्वको ऐतिहासिक शिवालय मन्दिर चेपुवामा परेको छ ।
धार्मिक आस्थाको धरोहर शिवालय मन्दिरको जग्गा अतिक्रमण भएपछि मन्दिर नै मासिने अबस्थामा पुगेको हो । शुरुदेखि नै सो मन्दिरमाथि अतिक्रमण हुँदै आएको छ । मन्दिरलाई सतानुसिंह राजवंशीको परिवारले करिव डेढ विगाह जग्गा दान दिएका थिए । त्यस जग्गामा महेन्द्र रत्न माविले विद्यालय भवन बनाएको थियो । त्यसपछि शिवालयकै करिव अठार कठ्ठामा अनारमनी पव्लिक क्याम्पस स्थापना भयो । त्यसपछि बाँकी रहेको मन्दिर परिसरको करिव ५ कठ्ठा जग्गामा समेत दुई वर्षअघि ४४ वटा टहरा निर्माण गरिएको छ ।
भवन चितबुझ्दो बनेन
बिर्ताबजारमा बनेको कृषि तथा सामुदायिक भवन चितबुझ्दो नभएको व्यवसायीहरुले बताएका छन् । व्यवसायिक कम्प्लेक्सभन्दा पनि सो भवन कोल्डस्टोर जस्तो बनेको उनीहरुको भनाई छ । भवन आकर्षक नभएको , भवनको प्यासेज साँघुरो रहेको , अन्डरग्राउन्डमा पानी रसाएकोजस्ता समस्या रहेको व्यवसायीहरुले बताएका छन् । नगरपालिकाले बनाएर दिएको डीपीआर अनुसार आफूहरुले सो भवन बनाएको निर्माण कम्पनीका प्रतिनिधि चौलागाँईले बताए ।