झापा, साउन ३ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित चारपाने – बेलडाँगी भित्री सडकखण्डमा मोटरसाइकल र स्कुटी एकापसमा जुध्दा तीन जना घाइते भएका छन् । एकजनाको अबस्था गंभीर रहेको छ ।

आज दिउँसो अन्दाजी १ बजेको समयमा चारपाने – बेलडाँगी भित्री सडकखण्डमा बेलडाँगीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–०२४ प ८०५१ नं.को मोटरसाइकल र बिर्तामोडबाट बेलडाँगीतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ४९१६ नं.को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटी चालक बिर्तामोड २ बेलडाँगी बस्ने २२ वर्षीय दिपेश गौतमको टाउको ,हात र खुट्टामा चोट लागेको छ । गम्भीर अबस्थाका गौतमलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएको छ ।

त्यस्तै मोटरसाइकल चालक इलाम नगरपालिका ५ बस्ने २० वर्षीय कृष्ण ढुंगेलको अनुहारमा सामान्य चोट र पछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय कमल भट्टराईको हात खुट्टामा सामान्य चोट लागेको छ । उनीहरुलाई पनि उपचारका बिर्तासिटी अस्पताल पुर्याइएको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्