बिर्तामोड,साउन ५ । मन्त्री र सांसद भइसकेका माओवादी नेताहरुले मिलेर चलाएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानलाई भद्रगोल बनाउँदा १६३ जना विद्यार्थीहरुको भविष्य बिग्रिने भएको छ ।
पाँच महिनादेखि पारिश्रमिक नपाएको भन्दै शिक्षकहरुले आन्दोलन जारी राख्दासमेत संचालकहरुले वास्ता नगरेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको पढाई बिग्रिने भएको हो । पारिश्रमिक नदिएको भन्दै शिक्षक कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् भने विद्यार्थीहरुको नियमित रुपमा पठनपाठन हुन सकिरहेको छैन । बाली विज्ञान , पशु विज्ञान र वन विज्ञान गरी तीन संकायमा त्यहाँ पढाई हुने गरेको छ । पहिलो वर्षमा बाली विज्ञानमा १५ , पशु विज्ञानमा १५ र वन विज्ञानमा १९ जना अध्ययनरत छन् । त्यस्तै दोस्रो वर्षमा पशु विज्ञानमा २४ , वन विज्ञानमा ९ र बाली विज्ञानमा ९ जना अध्ययनरत छन् भने तेस्रो वर्षमा बाली विज्ञानमा २६ , पशु विज्ञानमा २६ र वन विज्ञानमा २० जना अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।
तीनवटा संकायमध्ये पहिलो वर्षका विद्यार्थीहरुको मात्र पठनपाठन भइरहेको र अन्य संकायका विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको बताइएको छ । त्यस्तै परीक्षाका लागि आवेदन दिने म्याद सकिन लाग्दासमेत विद्यार्थीहरुले परीक्षा फर्म भरेका छैनन् । वन विज्ञानका सम्पूर्ण विद्यार्थीहरुका लागि र व्याक लागेका अन्य संकायका विद्यार्थीहरुका लागि परीक्षा फर्म खुलेको हो । असार १७ देखि साउन ६ गतेसम्म परीक्षा फर्म भर्ने म्याद रहेकोमा विद्यार्थीहरुले नभरेको जनाइएको छ ।
माओवादी टीमले चलाएको त्यस प्रतिष्ठानको अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी छन् । त्यस्तै उपाध्यक्षमा पूर्व सांसद तथा माओवादीका जिल्ला कमिटी सचिव मोहन टुडू रहेका छन् भने सचिवमा माओवादीकै जयप्रसाद भट्टराई , सहसचिवमा शिवकुमार राजभण्डारी र कोषाध्यक्षमा प्रकाश भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा गणेश कालिकोटे , भीम लकान्द्रीलगायत छन् । त्यस्तै प्रतिष्ठानको सल्लाहकारमा प्रदेशका पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी छन् । उनी पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज हुन् । त्यस्तै माओवादीकै विजय साम्पाङ पनि सल्लाहकारमा छन् भने खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की र स्थानीय मदनगोपाल सुब्बालाई पनि सल्लाहकार राखिएको छ ।
आफूलाई मुखन्ते सल्लाहकार राखिएको खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले बताए । अहिलेसम्म कुनै पनि बैठक र कार्यक्रममा नबोलाएको उनले बताए । पटक पटक भाका राखेर पाँच महिनादेखि संचालकहरुले तलब नदिएपछि बिर्तामोड २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका शिक्षक कर्मचारीहरु आन्दोलित छन् । करिव एक सातादेखि प्रतिष्ठानको प्रशासनिक भवनमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानमा कार्यरत २० जना शिक्षक कर्मचारीहरुले पाँच महिनाको तलब करिव ३६ लाख रुपैयाँ पाउन बाँकी रहेको संस्थापक शिक्षक नविनकिशोर बिमलीले जानकारी दिए ।
शिक्षक कर्मचारीहरुले हिजोदेखि आन्दोलन अझ चर्काएका छन् । प्रशासनिक भवनमा लागेको ताला यथावत राख्ने , सम्पूर्ण प्रशिक्षकहरुको सामूहिक राजीनामा स्वीकृत गरी विनाशर्त सम्पूर्ण पारिश्रमिक भूक्तानी गर्नुपर्ने, सञ्चालन समितिको असक्षमताको देखिएको हुँदा तुरुन्त सञ्चालक समितिले राजीनामा दिनुपर्ने , सम्बन्धित सरोकारवाला निकायहरुसमक्ष आफ्ना मुद्दा र समस्या अवगत गराउने ,प्लेकार्ड, हस्ताक्षर अभियान संकलन गरी सम्बन्धित ठाउँमा बुझाउने, सीटीइभीटी प्रदेश कार्यालय, केन्द्रीय कार्यालय, नरबहादुर कर्माचार्य केन्द्रीय कार्यालयमा यहाँका सबै गतिविधिवारे अवगत गराउने , जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ठगी मुद्दा जाहेरी दिने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यहाँका सञ्चालक समितिका पदाधिकारीउपर आवश्यक छानविन गरिदिन अनुरोध गर्नेलगायतका विरोधका कार्यक्रम शिक्षक कर्मचारीहरुले सार्वजनिक गरेका छन् ।
पारिश्रमिक पाउन बाँकी शिक्षक कर्मचारीहरुसंग बिर्तामोड २ का वडाअध्यक्ष किशोरकुमार पौडेलको रोहवरमा जेठ ८ गते सम्झौता भएको थियो । त्यसपश्चात् पुनः सीटीइभीटी प्रदेश कार्यालयका प्रतिनिधि, नरबहादुर स्मृति प्रतिष्ठान केन्द्रका प्रतिनिधिसहितको सर्वपक्षीय भेलाले जेठ २७ गते सम्झौता गरेको थियो । सो सम्झौता विनाशर्त कार्यान्वयन नगरेको हुँदा सम्पूर्ण शिक्षकहरुले साउन १ गतेदेखि प्रशासनिक भवनमा तालावन्दी गरेको शिक्षक विमलीले बताए ।
लाखौं घरभाडा दिन बाँकी
गिरीराजमणि पोखरेल शिक्षामन्त्री भएका बेला माओवादीको एउटा समूहले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान स्थापना गरेको थियो । शुरुमा प्रतिष्ठानको कार्यालय बिर्तामोड ४ पुरानो भद्रपुर रोडस्थित चन्द्रबहादुर राउतको घरमा रहेको थियो । पुरै घर भाडामा लिएर कार्यालय र शिक्षालय संचालन गरिएको थियो । त्यहाँको करिव २८ लाख रुपैयाँ भाडा दिन बाँकी रहेको छ । त्यहाँबाट बिर्तामोड २ बेलडाँगीस्थित गुठीको जग्गामा सरेको करिव तीन वर्ष भइसक्यो । भाडा पनि नतिरेको र घरबाट ल्यावलगायतका सामान पनि नलगेको भन्दै घरबेटीले वडा कार्यालयमा निवेदन दिन लागेको बताइएको छ ।
एक साताभित्र पारिश्रमिक दिन्छौ
प्रतिष्ठानका अध्यक्ष दर्लामीले आर्थिक मन्दीका कारण समयमै पारिश्रमिक भुक्तानी गर्न नसकिएको स्वीकार्दै एक साताभित्र शिक्षक कर्मचारीहरुको पारिश्रमिक भुक्तानी दिने बताएका छन् । आफूहरु कहिल्यै पनि श्रमिकको विपक्षमा नभएको उनले बताए । ‘तर, अलि बढी पूर्वाग्रही ढंगले शिक्षक कर्मचारीहरु लागेको देखिन्छ’ उनले भने,‘ बेकारमा सिंगौरी खोजेर केही हुँदैन जे जस्तो हर्कत गरेपनि पाउनु पर्ने पारिश्रमिक उहाँहरुले पाउनु हुन्छ ।’