लक्ष्मी उप्रेती,

मेचीनगर । बंगलादेशमा आरक्षणबिरुद्ध भएको आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका छन् ।

केही दिनयता काँकरभिट्टा नाका हुँदै पैदलमार्ग भएर स्वदेश फर्किने नेपाली विद्यार्थीहरुको लर्काे रहेको छ । अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार एकसाताको अवधिमा काँकरभिट्टा नाका भएर पैदलमार्ग हुँदैं सातसय जना विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन हिंसात्मक बनेको छ । अहिलेसम्म एक सय ३३ जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनमा सयौं जना घाइते भएका छन । बंगलादेश सरकारले देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट विच्छेद गरिएको छ । आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरु हवाई र स्थलमार्ग हुँदै स्वदेश फर्कन थालेको अध्यागमन कार्यालय काँकरभिट्टाको भनाई छ ।  

त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेको अध्यागमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख मोहन पनेरुले जानकारी दिए । ‘बिहीवार यो नाका भएर ८५ जना विद्यार्थी स्वदेश आएका थिए ’ कार्यालय प्रमुख पनेरुले भने ,‘त्यसपछि दैनिक यो संख्या बढ्दो छ । ’ आइतबार मध्यान्हसम्म काँकरभिट्टा नाका हुँदै पैदलमार्ग भएर तीनसय ९० जना विद्यार्थी फर्किसकेका छन् । शुक्रबार एकसय १४, शनिबार एकसय ४१ र आइतबार मध्यान्हसम्म ५० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । त्यस्तै अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आजै हवाई मार्गबाट नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौं आएका हुन् ।

बंगलादेशमा करिव तीनहजार विद्यार्थी अध्ययनका लागि गएको अनुमान गरिएको छ । दिन प्रतिदिन आन्दोलनले उग्ररुप लिएपछि नेपाल फर्किनेको संख्या निकै रहेको बंगलादेशबाट आइतबार मध्यान्ह काँकरभिट्टा अध्यागमन कार्यालय काँकरभिट्टा आइपुगेका विद्यार्थीहरुको भनाई छ । ‘अब हामी बंगलादेश कहिले फर्किने हो कुनै टुंगो छैन् ’ती विद्यार्थीहरु भन्छन्‘ आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीहरुले असुरक्षित महसुस गरिरहेका छन ।’ असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउन शुरु गरेको छ ।

बंगलादेशबाट स्वदेश फर्किन चाहने विद्यार्थीलाई परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताईएको छ । हालसम्म झण्डै आठसय नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आउने क्रममा छन् । ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्