धरमपुर, साउन ६ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले एक महिने वृक्षरोपण अभियान जारी राखेको छ ।

यसक्रममा शिवसताक्षी नगरपालिकाको वडा नम्बर १ को लक्ष्मीनारायण माध्यमिक विद्यालयको मैदानमा वृक्षरोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको आयोजनामा लक्ष्मीनारायण माध्यमिक विद्यालयको प्रांगणमा फूल र छाँयादार फलफूलसहित रुखका बिरुवा रोपिएको राष्ट्रिय युवा संघ नेपालका शिवसताक्षी नगर कमिटीका सह–इन्चार्ज पूर्ण चेम्जोङले बताए ।

‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ नारासहित शुरु गरिएको अभियान एक महिनासम्म चल्ने राष्ट्रिय युवा संघ झापाका संयोजक फुर्वा लामाले बताए । उनका अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघि रुद्राक्षको बिरुवा रोपेर अभियानको सुरुवात गरेका थिए । देशका ७५३ वटै पालिकामा यो अभियान जारी छ ।

असार १४ देखि शुरु भएको यो अभियान साउन १४ गतेसम्म सञ्चालन गरिने राष्ट्रिय यूवा संघ नेपालकी सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्य निशा लिम्बू्ले बताइन् । उनले यो अभियानबाट जलवायु परिवर्तनबाट उब्जिएका समस्याको केही हदसम्म निराकरण हुने विश्वास गरिन् ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी लिम्बूले मुलुकका ७ सय ५३ स्थानीय तहमा यो अभियान सञ्चालन भइरहेको र करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य राष्ट्रिय युवा संघले लिएको जानकारी दिइन् । उनका अनुसार राष्ट्रिय युवा संघका एक सदस्यले कम्तिमा पाँचवटा बिरुवा रोप्नुपर्ने र त्यसको संरक्षण पनि गर्नुपर्ने छ । लक्ष्मीनारायण माध्यमिक विद्यालयको परिसरमा करिव २ सय ५० बोटबिरुवा रोपिएको आयोजक राष्ट्रिय युवा संघ शिवसताक्षीले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य भरत इन्दिरा राई, जिल्ला सदस्य धनवहादुर थेवे, शिवसताक्षी नगर अध्यक्ष मेदनी दंगाल, सचिव लक्ष्मी गुरागाईँ, युवा नेता जितेन्द्र शाहा, लक्ष्मीनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमवहादुर खवास, प्रधानाध्यापक खगेन्द्र लम्जेललगायतको सहभागिता थियो ।

कार्यक्रम राष्ट्रिय युवा संघ झापाका सदस्यसमेत रहका संघका शिवसताक्षी नगर सह–इन्चार्ज पूर्ण चेम्जोङको अध्यक्षता र सचिव सागर राईको सहजीकरणमा भएको थियो । कार्यक्रममा स्वागत पार्टीका वडा कमिटी अध्यक्षसमेत रहेका संघका सहसचिव अर्जुन राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्