झापा, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाईको विश्वास प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आइतबार विश्वासको मत लिएका थिए । त्यसक्रममा प्रतिनिधिसभामा उनको पक्षमा दुईतिहाई सांसदले समर्थन गरेका हुन् ।

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये ओलीको पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत प¥यो भने मत दिन्न भन्नेमा १ मत परेको छ । प्रतिनिधिसभामा १८४ मतले दुईतिहाई पुग्छ। ओलीले त्यसभन्दा बढी मत पाएका छन् ।
गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भइ सोमबारबाट कार्यभार थालेका प्रधानमन्त्री ओलीले संविधानको प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।प्रतिनिधिसभामा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपालगायतका दलको समर्थन छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी चाहिँ ओलीको विपक्षमा उभिए ।

कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो ।ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाई सिट प्राप्त गर्यो र पार्टी एकताको घोषणा गर्यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्