झापा, साउन ७ । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री  रामचन्द्र रायको हत्या भएको छ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका –१ रतनपुरमा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घरमा काम गर्ने रामउजैन रायका अनुसार तीन जना व्यक्ति रायलाई भेट्न राति आएकोमा उनी सँगै सुतेका थिए ।हत्यापश्चात उनीहरू फरार रहेको उनले बताए । घरकै छेउको बाँसघारीबाट पूर्वमन्त्री रायमाथि प्रहार भएको उखु काट्ने घरेलु हतियार बरामद भएको छ । मन्त्री रायकै घरमा रहेको सो हतियारबाट उनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको घर मलंगवा नगरपालिका –४ भएपनि उनी रतनपुरमा आउजाउ गरिरहन्थे। राय २०५४ सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । उनी राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष उम्मेदवारसमेत थिए ।मृतक राय तीन दाजुमध्ये माइलो थिए । उनका एक श्रीमती २ छोरा तथा ५ छोरी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्