बिर्तामोड, साउन ७ । बिर्तामोड नगरपालिकाले ’पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले बिक्री केन्द्रको उद्घाटन गरिन् ।
नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथि सदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा सुलभ टोल, वडा नम्बर ५ मा तमुटोल र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरिएको छ ।

यस्तै बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ।

नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण, विषादी न्यूनीकरण र अन्य कृषि बजारको तुलनामा सुलभ मूल्य नै तरकारी बिक्री तथा संकलन केन्द्रको विशेषता रहेको जानकारी दिए । उनले स्थानीय कृषकले उत्पादन गरेका सबै प्रकारका तरकारी तोकिएका संकलन केन्द्रबाट मात्रै खरिद गरिने बताए । बिक्री केन्द्रमा पुर्याउनुभन्दा अघि तरकारीमा विषादी मापन गरिनेछ । विषादीरहित खानयोग्य तरकारीमात्रै बिक्री गरिने कृषि शाखाले जनाएको छ ।

बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजना अनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अघि बढाएको हो । बिर्तामोडमा १ सय १७ जना व्यवसायिक तरकारी कृषक रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्