मेचीनगर, साउन ७ । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरिसकेपनि आन्दोलन जारी रहेका कारण नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम रोकिएको छैन ।

पूर्वी नाका काँकडभिट्टा हुँदै आज पनि नेपाली विद्यार्थीहरु स्वदेश फर्किरहेका छन् । आज बिहानदेखि साँझसम्म काँकडभिट्टा नाका हुँदै ११४ जना नेपाली विद्यार्थीहरु फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । त्यहाँको सर्वोच्च अदालतले आरक्षण प्रणाली खारेज गरेपनि आन्दोलन नरोकिएकाले असुरक्षा महसुस गरी नेपाली विद्यार्थीहरु फर्किरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । हिजोसम्म काँकडभिट्टा नाका हुँदै ८२३ जना विद्यार्थी स्वदेश फर्किएका थिए । हिजो एकैदिन ३०५ जना फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि हिजोसम्म १२ सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा रहेका नेपाली विद्यार्थीको संख्या तीन हजार हो । तीमध्ये शनिबारसम्म आठ सय र आइतबार चार सय २० गरी १२ सय २० जना स्वदेश फर्किएका छन् । आइतबार विमान बंगलादेश र हिमालय एयरलाइन्समार्फत एक सय २० र काँकडभिट्टा हुँदै तीन सय पाँचजना फर्किएका हुन् ।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शनमा एक सय ४७ जनाले ज्यान गुमाइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनमा सयौं जना घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्