द्रोण अधिकारी,
भद्रपुर । कोशी प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०८०÷०८१ मा झापामा आएको विकास रकममध्ये २० प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको छ ।


प्रदेश सरकारबाट चालुतर्फ १ अर्व ४१ करोड १७ लाख ९२ हजार २०० तथा पूँजीगततर्फ ३ अर्व १७ करोड ४० लाख ११ हजार गरी ४ अर्व ५८ करोड ५८ लाख ३ हजार २ सय रकम झापामा आएकोमा ३ अर्व ७० करोड ७७ लाख ६५ हजार ६६४.५२ पैसा मात्र खर्च भएको हो ।जसबाट ८७ करोड ८० लाख ३७ हजार ५३६ रुपैयाँ फिर्ता भएको हो ।

चालुतर्फ १ अर्व १६ करोड ८८ लाख ४६ हजार ६५६ रूपैँया ३६ पैसा खर्च भएको छ भने पूँजीगततर्फ २ अर्व ५३ करोड ८९ लाख १९ हजार ८ रूपैया ३६ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक इकाई कार्यालय झापाका प्रमुख कुलप्रसाद गुरागाईले जानकारी दिए ।

प्रारम्भिक विवरण अनुसार झापामा सवैभन्दा धेरै पूर्वाधार विकास कार्यालयले २ अर्व १४ करोड ७६ लाख ५० हजार बजेट प्राप्त गरेकोमा १ अर्व ५७ करोड ७० लाख ६८ हजार ६०७.४४ मात्र खर्च गर्न सफल भएको देखिन्छ ।

झापाका १५ वटा स्थानीय तहलाई ५६ करोड ६७ लाख ५४ हजार बजेट आएकोमा ६ करोड ५ लाख ४ हजार ९१५.६० रूपैया खर्च नभई फिर्ता गएको देखिन्छ । सवै पालिकाले खर्च विवरण पठाइनसकेका कारण यो रकम अझ बढ्न सक्ने प्रमुख गुरागाईले जानकारी दिए ।

दोस्रो धेरै बजेट पाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले ५२ करोड १२ लाख ७४ हजार बजेट पाएकोमा ५१ करोड १४ लाख ७ हजार ४२३.३७ पैसा मात्र खर्च गर्न सफल भएको छ ।

तेस्रो धेरै बजेट जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय झापाले ३४ करोड ६ लाख ४३ हजार रकम पाएकोमा ३० करोड ८० लाख ६९ हजार ७८५.३६ पैसा मात्र खर्च गर्न सफल देखिन्छ ।

चौथो धेरै बजेट मेची प्रादेशिक अस्पताल भद्रपुरले २१ करोड ६८ लाख ९९ हजार बजेट पाएकोमा १६ करोड ७० लाख ४९ हजार ५९८.७६ पैसा मात्र खर्च गरेको छ ।

पाँचौं धेरै बजेट कन्काई सिंचाई व्यवस्थापन कार्यालयले ११ करोड ९७ लाख ४४ हजार रकम पाएकोमा ११ करोड ३९ लाख ६१ हजार ५७९.४५ रकम मात्र खर्च गरेको देखिन्छ ।
झापामा २६ वटा कार्यालयमा प्रदेश सरकारमार्फत बजेट आएकोमा कुनै पनि कार्यालयले शतप्रतिशत खर्च गर्न सकेनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्