झापा , साउन ९ । बिर्तामोड–चन्द्रगढी सडकखण्ड निर्माणको कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयहरुले बिर्तामोड ८ देउनियामा सडक अवरुद्ध पारेका छन् ।

आज बिहान सवा ९ बजेदेखि बिर्तामोड – चन्द्रगढी सडक खण्डमा बाँस र ढुङ्गा राखेर उनीहरुले सडक अवरुद्ध गरेका हुन् । सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको, धुँवा धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा करिब ३५ जना स्थानीयहरुले चक्काजाम गरिरहेको प्रहरीले जनाएको छ । त्यहाँ प्रहरी टोली परिचालन भई सवारीसाधनहरुलाई बैकल्पिक बाटोतर्फ पठाएको छ ।

चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलाम्मे सडक कारण जनताले सास्ती झेल्दै आइरहेका छन्। सो सडकअन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागेपनि अझै काम सुरु भएको छैन।

सो सडक निर्माणको ठेक्का काठमाडौंको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो। २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो। सो अवधिमा कम्पनीले बिर्तामोडदेखि देउनियासम्मको सडक खण्ड पनि निर्माण सम्पन्न गर्न सकेको छैन । दुई पटक म्याद थप गरिसकेका निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्