बिर्तामोड, साउन १० । बैंकले मानसिक तनाव दिएपछि बिर्तामोडका एकजना व्यवसायीले झुन्डिएर आत्महत्या गरेको परिवारले आरोप लगाएका छन् ।

बिर्तामोड ४ स्थित पुरानो सगरमाथा टोल बस्ने ३४ वर्षीय शैलेस साहले आफ्नै घरको दोस्रो तलाको कोठामा पासो लगाएर आत्महत्या गरेका हुन् । शैलेशका बुबा विनोद साहले छोरा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शैलेश साहले बिर्तामोड ४ स्थित भद्रपुर रोडमा कस्मेटिक पसल संचालन गर्दै आएका थिए। बिर्तामोडको एक बैंकबाट २५ लाख रुपैयाँ ओडी कर्जा लिएको र कर्जा भुक्तान गर्न बैंकले पटकपटक फोन गरेर ताकेता गरेपछि छोराले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको मृतकका बुबा विनोद साहले बताए ।
तर, बैंकले भने परिवारको आरोप अस्वीकार गर्दै आफूहरूले कुनै पीडा नदिएको जनाएको छ। त्यस बैंकका कर्जा प्रमुखले भने, “ उहाँ नियमित ऋणी हुनुहुन्छ , हामीले कर्जा भुक्तानीका लागि पत्र पनि पठाएका छैनौ ।” मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।