झापा,साउन ११ । मोरङको एउटा फार्मेसी बाट प्रतिबन्धित औषधिको कारोबार भएको पाइएको छ । प्रतिबन्धित औषधि किनबेच हुने फार्मेसीमा प्रहरीले छापा मारेको हो । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित जनसेवा मेडिकल नामक फार्मेसीमा शुक्रबार दिउँसो १ बजेतिर प्रहरीले छापा मारेको हो ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी नायव निरीक्षक प्रवीण खड्का नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा छापा मारेको फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ ।

फार्मेसीबाट प्रेगाबलिन क्याप्सुल ३ सय २० ट्याब्लेट, स्पासरेट १ सय ५२, ट्रमाडोल ३ सय ९ र डिकोलिक २ सय ११ ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएका औषधिको कारोबार फार्मेसीबाट हुने गरेको पाइएको छ ।

प्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार फार्मेसी सञ्चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्