झापा, साउन ११ । समयमै विद्युत महशुल नबुझाउने १ हजार बढी ग्राहकको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले लाइन काटिदिएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा १ हजार १७० ग्राहकको लाइन काटिएको हो । उनीहरुले ६ करोड ७० लाख २८ हजार ४१२ रुपैयाँ महशुल बुझाउन बाँकी रहेको थियो । त्यसमध्ये ३ करोड ९० लाख ९७ हजार ५६७ रुपैयाँ बुझाएर १ हजार १३६ जना ग्राहकले पुनः लाइन जोड्न लगाएका छन् । थोरै महशुल तिर्न बाँकी रहेका ग्राहकहरुले महशुल तिरेर पुनःलाइन जोड्न लगाएपनि धेरै महशुल तिर्नुपर्ने ३४ जना ग्राहकहरुले लाइन जोडेका छैनन् । ती ३४ जना ग्राहकहरुले २ करोड ७९ लाख ३० हजार ८४५ रुपैयाँ महशुल तिर्नुपर्ने देखिएको वितरण केन्द्र प्रमुख संजीवकुमार शाहले बताए ।

त्यस्तै प्राधिकरणको अनारमनी वितरण केन्द्रले २३७ जना ग्राहकलाई कालोपाटीमा राखेको छ । उनीहरुबाट १करोड ३२ लाख ३१ हजार ६३ रुपैयाँ असुल हुन बाँकी रहेकोमा ३७ लाख ५५ हजार ५९० रुपैयाँ असुल भएको वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्