झापा, साउन ११ । नक्कली सुन देखाएर ठगी गर्न खोज्ने दुई व्यक्ति शिवसताक्षीमा पक्राउ परेका छन् ।

हिजो दिउँसो ४.३० बजे शिवसताक्षी ९ मिलन चोकस्थित पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा ताप्लेजुङ साविक तेल्लोक गा.बि.स. ७ हाल सिरीजंगा गाउँपालिका ४ घर भई झापा अर्जुनधारा ११ स्थित पुतलीझोडा बस्ने ४२ वर्षीय माईला कामी भन्ने पदमबहादुर विश्वकर्मा र ताप्लेजुङ मैवाखोला गाउँपालिका ६सामतोङ बस्ने ४१ वर्षीय राम लिम्बूले सुनसरी बराहक्षेत्र ५ कालाबन्जारस्थित पाथीभरा ज्वेलर्स संचालन गर्ने मानबहादुर बि.क. लाई बिलबिजक नभएको गाली राखेको करिब ७०० ग्राम सुनजस्तो नक्क्ली धातु बेच्न लागेका थिए ।

त्यस सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी निरीक्षक अनिश बुढाथोकीको टोलीले राम लिम्बूलाई पक्राउ गरी चेकजाँच गर्दा उनले बोकेको झोलाभित्र सेतो कपास र रातो कपडाले बेरेको बाहिरी भाग कालो भएको बिच भागमा काटिएको पहेलो सुनजस्तो देखिने बस्तुको लेप लगाएको १ के.जी १९० ग्राम तौल भएको धातु, फलामको बिड बिनाको १ थान मार्तोल र बिभिन्न सुनचाँदी पसलको बिल तथा भिजिटिङ कार्डहरु फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दैगर्दा उनका साथी पदमबहादुर विश्वकर्मा भागेर फरार भएका थिए । खोजतलास गर्ने क्रममा अर्जुनधारा ११ पुतलीझोडामा भाग्दै गर्दा राति ९ः३० बजे विश्वकर्मा फेला परेका थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट आज झापा जिल्ला अदालतमा उपस्थित गराई ठगी कसुर मुद्दामा ५ दिन म्याद थप लिई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका लिम्बूले यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको खुल्न आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्