झापा,साउन १२ । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ । तर, एक वर्ष यता ८ हजार बढीले चालक अनुमति पत्र पाउन नसक्दा रसिदकै भरमा आफ्नो सवारी चलाउनु परेको छ ।

यातायात कार्यालय इलामबाट चालक अनुमति पत्र लिनका लागि लिइएको परीक्षा उत्तीर्ण भए पनि चालक अनुमतिको प्रमाण– पत्र (लाइसेन्स) नआउँदा कार्यालयले दिएको रसिदकै भरमा सवारी चलाउनु पर्ने बाध्यता बनेको छ । इलाम कार्यालय मार्फत ८ हजार १६७ जना व्यक्तिहरूले नयाँ पाउनु पर्ने र नवीकरण भएर आउनु पर्ने लाइसेन्स पर्खिरहेका छन् ।

सन् २०२३ फेब्रुअरी ५ देखि पछाडि कसैको पनि सवारी चालक अनुमति पत्र नआएको जनाइएको छ ।

कार्यालयले सवारी चालकका लागि अनुमति प्रमाणपत्र दिन अहिले पनि लिखित र अभ्यासको परीक्षा भने गराइ रहेको छ । कार्यालयले आइतबार देखि बुधवार सम्म लिखित परीक्षा गराउने गरेको छ । बिहीबार भने सवारी कुदाउने अभ्यास परीक्षा गर्ने गरेको कार्यालयका सूचना अधिकारी सुवर्ण खड्काले बताए । खड्काका अनुसार दैनिक जसो १० देखि १५ जना परीक्षामा सहभागी हुने गरेका छन् ।

इलाम कार्यालयबाट मोटर साइकल, स्कुटर, ट्याम्पो, ट्याक्टर, हल्का सवारी, एक्स्काभेटर र डोजर चालकका लागि चालक अनुमति पत्रको परीक्षा सञ्चालन हुने गरेको छ । इलाम, पाँचथर, ताप्लेजुङ कार्यक्षेत्र रहेको कार्यालयमा ती बाहेकका जिल्ला र प्रदेशका सवारी नवीकरण समेत हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्