भद्रपुर, साउन १४ । झापा भद्रपुरका पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ ।

भद्रपुर नगरपालिका–१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय पूर्व फुटबलर गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा हिजो साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनले लामो समयदेखि सुगर रोगको औषधि सेवन गरिरहेका थिए ।

२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी अन्डर १६, अन्डर १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट सन्यास लिएका थिए । उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । फुटबल खेलको सुदृढीकरण र विकासमा महत्वपूर्ण योगदान पर्याएको भन्दै भद्रपुर झापा गोल्डकपले २०७९ फाल्गुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । उनका छोरा बिशाल राई पनि फुटबल खेलाडी हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्