भद्रपुर, साउन १४ । संस्थागत विद्यालयहरुले वर्तमान कानुनविपरित क्रियाकलाप गरिरहेको भन्दै नियन्त्रणको मागसहित शिक्षक कर्मचारीहरुले सरोकारवाला कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

निजी विद्यालय पीडित शिक्षक संघर्ष समिति झापाले भद्रगोल अवस्थामा चलिरहेका निजी विद्यालयहरुलाई नियमसंगत बनाउन माग राख्दै जिल्ला प्रशासन कार्यालय, श्रम तथा रोजगार कार्यालय, भद्रपुर नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाई झापामा ध्यानाकर्षणपत्र बुझाएको हो । संयोजक नितेश सिंहको नेतृत्वमा गएको शिक्षक कर्मचारीहरुको टोलीले ध्यानाकर्षणपत्र बुझाएको थियो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाँई , भद्रपुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज प्रसाईंलगायतलाई ध्यानाकर्षणपत्र बुझाएको जनाइएको छ ।
पछिल्लो समय झापामा रहेका अधिकांश निजी विद्यालयले श्रम ऐनमा प्रष्ट लेखिएको दरबन्दी सिर्जना प्रकृया उल्लंघन गर्दै स्थायी र अस्थायी दरबन्दी एउटा पनि कार्यान्वयन गरेका छैनन् । केही करार तथा अधिकांश दैनिक ज्यालादारी कामदार बनाएर शिक्षक कर्मचारीमाथि शोषण गर्दै वर्षौदेखि कानुनलाई चुनौति दिइरहेको उनीहरुको आरोप छ । । नियामक सरकारी निकायले देखेर पनि नदेखेजस्तो गरिरहेको भन्दै शिक्षक कर्मचारीले आन्दोलनका लागि तयार हुन थालेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्