विनोद सापकोटा,
शिवगञ्ज । कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिवसताक्षी नगरपालिका ६ नम्बर वडा कार्यालयले उन्नत जातका रुख र फलफूलका बिरुवाहरु बितरण गरेको छ ।

वन कार्यालय दमकअन्तर्गत झिलझिले नर्सरीबाट प्राप्त बिरुवा वडाबासीलाई वडा कार्यालयले निःशुल्क बितरण गरेको हो ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार विभिन्न जातका करिव ५ हजार बिरुवा वडाबासीलाई सार्वजनिक सूचना आव्हान गरेर वितरण गरिएको हो । ‘वडालाई वन कार्यालय दमकले निःशुल्क बिरुवा उपलब्ध गराएको थियो । त्यही बिरुवा वडाका बासिन्दालाई बितरण गरिएको हो,’ वडा अध्यक्ष मनोज खुलालले भने । उनका अनुसार वडाले बिरुवा बितरण प्रयोजनका लागि आर्थिक व्ययभार बेहोर्नुपरेको छैन ।

डिभिजन वन कार्यालय झापाको प्राविधिकको सल्लाहअनुसार वडाको हावापानी अनुकूलका बिरुवा वितरण गरिएको वडा अध्यक्ष खुलालले बताए । ‘कतिपय वडाबासीले छायाँदार फलफूलका बोटका बिरुवा पनि लैजानु भएको छ । ती बिरुवा हुर्किएपछि वडाको वातावरण नै परिवर्तन अर्थात हरियाली वडा हुन सक्ने छ,’ वडा अध्यक्ष खुलालले भने । बाहिरबाट आयात हुने फलफूलजन्य वस्तुहरु वडाभित्र नै उत्पादन गरेर अन्य वडामा निर्यात गर्न सकेमा वडालाई समृद्ध बनाउन सकिने वडाध्यक्ष खुलालको भनाई छ । यसले हरेक वडाबासी आर्थिक रुपमा आत्मनिर्भर हुन सक्छन् ।

वडा कार्यालयमार्फत् हावापानी अनुकूल बिरुवाहरु वितरण गरिएकोमा स्थानीय कृषकहरु समेत उत्साहित देखिएका छन् । कृषि बिज्ञहरुसँगको परामर्शमा वडाले बिरुवा बितरण गरेकाले यसले कृषकलाई पनि राहत मिलेको स्थानीय आर्यन ढकालले बताए । कृषकले आफ्नै ठाउँमा केही गर्न सकेमा परनिर्भरता हुनु नपर्ने ढकालको भनाई छ । वडालाई समृद्ध र आत्मनिर्भर बनाउनका लागि हरेक पल सक्रिय हुन थालेको वडाको यो अभियानलाई सबैले खुलेर सहयोग गर्न पनि ढकालले अनुरोध गरेका छन् ।

वडाले मसला, टिक, तेजपात, अमला, रातो फुल्ने सिरिस, भटमासे, खमारी, मेन्दुला, टाँकीलगायतका रुख तथा छायाँदार फलफूलका बिरुवा वडाका नागरिकलाई प्रदान गरेको हो । यी बिरुवाको नियमित मलजल र गोडमेल गर्न सबै वडाबासीलाई अध्यक्ष खुलालले अनुरोध गरेका छन् ।

वडाका अनुसार अबको पाँच वर्षमा वडाका हरेक घरमा हरियाली हुनेछ । बाँझो तथा खाली जग्गामा पनि रुख, फलपूmल र छायाँदार बोटबिरुवा रोप्न वडा अध्यक्ष खुलालले सबै वडाबासीसंग अनुरोध गरेका छन् । वडाको सहजीकरणमा डिभिजन वन कार्यालयले दिएको बिरुवामा वडाबासीले दोब्बर बिरुवा रोप्नसके जलवायु परिवर्तनका कारण देखिन थालेको असर विस्तारै घट्ने वडा अध्यक्ष खुलालले बताए ।

वडाबासीका अनुसार वडा अध्यक्ष खुलाल ‘भिजनेवल’ नेता हुन् । दुईपटक वडा अध्यक्ष पदमा सर्वाधिक मतले बिजयी बनेका खुलाल दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गर्न र सामूहिक रुपमा छलफल गरेर योजना बनाउन माहिर छन् । खुलालको वडा अन्य वडाभन्दा केन्द्र र प्रदेशको बजेट भित्र्याउन शिवसताक्षी नगरका ११ वटै वडामध्ये एक नम्बरमा छ । संघीय र प्रदेश सरकारको बजेट उनको वडामा पालिकाले ११ वटै वडालाई दिएको वडा सिलिङ बजेटको तेब्बरभन्दा माथि छ ।

संघीय र प्रदेश सरकारको बजेटले कृषि बजार, नगर अस्पताल, सडकको स्तरोन्नति, नाला, पशुविमा, विपन्न स्वास्थ्य विमा, कनकाईमा पुल, एक घर एक सुपारीका बिरुवालगायतका कार्यक्रममा खर्च भएको छ । कतिपय योजना निर्माणाधिन अवस्थामा छन् ।

वडाबासी भन्छन्,‘वडा अध्यक्ष खुलाललाई अब मेयर पदका लागि आशीर्वाद छ । किनभने उनी नगरका लागि ‘भिजनेवल’ नेता हुन् । उहाँमा काम गर्ने शैली र तौरतरिका शिवसताक्षी नगरका अरु जनप्रतिनिधिको भन्दा बेग्लै छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्