कुमरखोद, साउन १४ । दशौं विश्व मानव बेचबिखनविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी झापा गाउँपालिकामा मनाइएको छ ।

त्यस अवसरमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखनविरुद्धको अभिमुखीकरण तथा सचेतना र्याली निकालिएको थियो । ‘बालबालिका बेचबिखन बन्द गरौं ,बाल विवाह र शोषणमुक्त समाजको निर्माण गरौं’लगायतका सन्देशमूलक प्लेकार्ड बोकेर र्यालीले झापा बजार परिक्रमा गरेको थियो । झापा गाउँपालिका , कारीतास नेपाल र इलाका प्रहरी कार्यालय कुमरखोदको आयोजना तथा झापा बजार व्यवस्थापन समिति , पिछडा उत्थान कृषि सहकारी संस्था , जरमाई युवा क्लव र मार्शल कृषि सहकारी संस्थाको सहकार्यमा र्याली निकालिएको थियो ।

र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपेन्द्र राईले मानव बेचबिखन हुने कारण तथा ओसार–पसारमा संलग्न हुने सक्ने सम्भावित व्यक्तिको पहिचान , लागूऔषध प्रयोगकर्ताको पहिचान गर्ने तरिका , कुलतमा फसेका युवाहरुको निगरानी , मानव बेचबिखन गर्दा लाग्ने मुद्धा र सजाय , मानव बेचबिखन जस्तो जघन्य अपराध न्यूनीकरणका लागि समाजले गर्नुपर्ने निगरानीका विषयमा प्रकाश पारेका थिए ।

कारीतास नेपालका कार्यक्रम अधिकृत विपिन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले मानव बेचबिखन न्यूनीकरणमा सबैको सहयोग उतिकै आवश्यक रहेको बताइन् । उनले सभ्य समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट जागरुक हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव ,वडा नं २ का हिमालकुमार चम्लागाई , सशस्त्र बेश क्याम्प टाँघनडुब्बा विओपीका प्रमुख श्याम थापा , कार्यपालिका सदस्य दिलिप विक , कविता सोरेन , बाबरी परियार , पिछडा उत्थान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण केवरत , झापा बजार व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कारितास नेपालका विवेक शिवाकोटी र स्वागत मन्तव्य झापा गाउँपालिकाका रोजगार संयोजक राजु उराउले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्