झापा,साउन २८ । इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।
पूर्वी नेपालको सीमा क्षेत्रमा रहेको पशुपतिनगर भन्सार कार्यालयले आव २०८०÷०८१ मा तीन करोड ६८ लाख १५ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त अवधिमा दुई करोड ७२ लाख ७१ हजार छ सय २१ रुपियाँ मात्र राजस्व सङ्कलन भएको हो ।
पशुपतिनगर भन्सार भएर नेपालमा उत्पादन भएको कृषिजन्य वस्तु भारत निकासी हुने गरेको छ ।
त्यस्तै भारतबाट खाद्यान्न लत्ताकपडा लगायतका वस्तु उक्त नाकाबाट निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा आयात तर्फको भन्सार महशुल, आयात तर्फकै मुल्य अभिवृद्धि कर, अग्रिम आयकर लगायत गरी उक्त रकम जम्मा भएको कार्यालय प्रमुख प्रवीण लिम्बूले जानकारी दिए ।
कार्यालय प्रमुख लिम्बूले नेपाल भारत सीमा क्षेत्रमा आइरहने उतारचढावका कारण भन्सार राजस्व असुलीको लक्ष्यमा पुग्न नसकेको जानकारी दिए । उनका अनुसार नेपालतर्फ भन्सार भए पनि भारततर्फ इन्डियन कस्टम नभएका कारण बिल जारी नहुँने हुँदा पशुपतिनगर भन्सारको राजस्व असुलीमा प्रभाव पर्ने गरेको जानकारी दिए । भारतले अहिले सुकियामा इन्डियन कष्टम राख्ने बताउँदै आए पनि अहिलेसम्म कार्यालय स्थापना गरेको छैन ।
अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई करोड ७१ लाख ८२ हजार ६५ रुपियाँ राजस्व जम्मा भएको थियो । आर्थिक वर्ष २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा ८९ हजार पाँच सय ५६ रुपियाँ बढी राजस्व उठेको कार्यालयका नायब सुब्बा प्रकाश सुनुवारले जानकारी दिए । भन्सार कार्यालय पशुपतिनगरले आर्थिक वर्ष २०८१÷०८२ का लागि तीन करोड ५१ लाख नौ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको नायब सुब्बा सुनुवारले जानकारी दिए ।
पशुपतिनगर भन्सार भएर नेपालबाट पशु चौपाया समेत निर्यात हुने गरेको छ । सीमा क्षेत्रबाट हुने तस्करी र राजस्व छलीका कारण समेत पशुपतिनगर भन्सारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।