झापा,साउन २८ । भारतसंग खुल्ला सिमाना भएको झापामा अवैध हातहतियारको अवस्था भयावह देखिएको छ ।

भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती बनेको प्रहरीको भनाई छ । झापामा लगातार अवैध हतियार बरामद भएको छ । भरुवा बन्दुक र चोरीका सामानसहित शनिवार राति अर्जुनधारामा ३ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बू, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन् ।

त्यसको पर्सिपल्ट सोमवार दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका– ८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बिहान ३ः५५ बजेको समयमा दमक नगरपालिका–५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली ठाउँमा लुकाइछिपाई राखिएको मेड इन इटाली लेखिएको पेस्तोल र दुई थान म्याग्जिन फेला परेको डीएसपी चन्दले बताए ।

यसअघि गत बैशाख २१ गते दमकमा एक छात्रामाथि गोली प्रहार भएको थियो । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर अधिकारी गजमेरकी १८ वर्षीया छोरी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो । गोली हान्नेको पहिचान खुलेपनि ती व्यक्ति अझै पक्राउ परेका छैनन् ।

गत वर्ष मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका थिए ।

भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिकलाई फलाम र काठले बनेको एयर गनजस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोलजस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्डसहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।

यसरी झापामा अवैध हतियारले शान्ति सुरक्षामा असर गर्दै आएको छ । खुल्ला सिमाना भएको झापामा भित्रिने अवैध हतियारका कारण सुरक्षा चुनौती रहेको डीएसपी चन्दले स्वीकारे । उनले छिटपुट रुपमा अवैध हतियारका घटना हुँदै आएको जानकारी दिए । झापा प्रहरीले अवैध हतियारलाई जिल्लाको सुरक्षा चुनौतीकै रुपमा लिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय झापाले बैधानिक रुपमा हतियार राख्न चाहनेहरुका लागि अनुमति दिने गरेको छ । अनुमति लिइएका हतियारको वर्षेनि नवीकरण गर्नुपर्ने हुन्छ । तर, झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण भएका छैनन् । जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरण अनुसार झापा जिल्लामा हालसम्म साना ठुला गरी कुल ८५७ जनाले हतियार राखेका छन् । तर नियमित नवीकरणका लागि भने हालसम्म ३१३ जना मात्रै जिल्ला प्रशासन कार्यालयमा आएको देखिएको छ । बाँकीले भने हालसम्म पनि हतियार नवीकरण नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्