धरमपुर, साउन २८ । झापाको शिवसताक्षीमा दिवंगत छोरी रन्जना खनालको जन्मजयन्तीको अवसर पारेर बुबा राधाकृष्ण खनाल र आमा सावित्राले समाजका विभिन्न व्यक्ति र समूहलाई सहयोग गरेका छन् ।


छोरीको अल्पायुमै स्वर्गबास भएपछि उनको सम्झनामा वर्षेनि विभिन्न कार्यक्रम गर्दै खनाल परिवारले रञ्जनाको जन्मजयन्ती मनाउने गरेका छन् । कहिले व्यक्तिलाई सहयोग हुन्छ भने कुनै वर्ष समूहलाई सहयोग गर्ने गरेको खनाल परिवारले जनाएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश ‘क’ का सांसद राधाकृष्ण खनालले सडक दुर्घटनामा परेर मृत्यु भएकी छोरी रञ्जनाको स्मरणमा उनको जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सोमवार खाद्यान्न सामग्री प्रदान गरेका छन् । रञ्जनाको ०४९ साउन २८ गते जन्मदिन हो ।स्थानीय वडा नम्बर १ की दुर्गा विश्वकर्माको परिवारलाई चामल, दाल, नुन तेल, साबुनलगायतका सामग्री प्रदान गरेर रञ्जनाको ३१ औ जन्मजयन्ती खनाल परिवारले मनाएको हो । विश्वकर्मा भूमिहीन हुन् । उनी आफ्नो परिवारसहित स्थानीय महाजनको घरमा आश्रय लिएर बसेका छन् । ‘छोरीको ईच्छा विपन्न र दीनदुःखीलाई सेवा गर्ने हुन्थ्यो,’ रञ्जनाका बुवा खनालले भने, ‘ उनी जुन विषय र विधामा खुशी हुन्थिन् त्यही काम गरिदिएर हामीले उनको जन्मदिन मनाउने गरेका छौ ।’

२०७६ साल जेठ २० गते शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत रञ्जना खनालको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । उनी आफ्नो स्कुटीमा कार्यालयतर्फ जाने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा उनको घर नजिकैको धरमपुर चोकमा घटनास्थलमै मृत्यु भएको थियो । यो घटना परिवारको कहिल्यै नमेटिने घाउ बनेर आएको खनालले बताए । ‘योभन्दा ठुलो र जसरी पनि सहनैपर्ने बज्रपात हाम्रो खनाल परिवारमा कहिल्यै परेको थिएन,’ खनालले भने, ‘बाँचुञ्जेल कहिल्यै निको नहुने घाउ लाग्यो । विर्सनका लागि अनेकौ उपाय अपनाउँदा पनि नसकिने रहेछ ।’

खनाल परिवारले रञ्जनाको स्वर्गारोहणपछिको पहिलो जन्म दिन उनले अध्ययन गरेको भानु माध्यमिक विद्यालय पारावारीका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरेका थिए ।

दोस्रो वर्ष कोरोना महामारीका बेला शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेर खनाल परिवारले छोरीको जन्मदिनको स्मरण गरेको थियो । यस्तै तेस्रो वर्ष वडा नम्बर १ का विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा प्रदान गरेर खनाल परिवारले दिवंगत छोरी रञ्जनाको जन्मदिन मनाएको थियो । चौथो वर्ष वडा नं ८ का पदमबहादुर निरौलाको उपचारमा सहयोग गर्ने हेतुले आर्थिक सहयोग गरेको सो परिवारले जनाएको छ ।

सोमबार शिवसताक्षी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा खनाल परिवारले अति विपन्न विश्वकर्मा परिवारलाई खाद्यान्नलगायतका अन्य सामान प्रदान गरेको हो । कार्यक्रम वडा अध्यक्ष लक्ष्मी चेम्जोङको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्