देविका अधिकारी,
झापा । विश्व हात्ती दिवस २०८१ को अवसरमा मानव– हात्ती सहअस्तित्वमा जोड दिइएको छ ।

झापामा मानव– हात्ती द्वन्द्व मुख्य चुनौती बनेको छ। मानवीय क्रियाकलाप र प्राकृतिक कारणले पछिल्लो समय हात्तीको संख्या दिनानुदिन घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो शताब्दीमा मात्र संसारभरिमा अफ्रिकी हात्ती ९० प्रतिशत र एसियाली हात्ती ५० प्रतिशतले घटेको छ । तसर्थ पृथ्वीको सबैभन्दा ठूलो जीवको अस्तित्व संकटमा परेको छ। विश्वमा ३ प्रकारका हात्ती पाइन्छन् भने नेपालमा पाइने एसियाली हात्तीको प्रजाति हो।

यहाँको वनजङ्गलमा मानवीय प्रभाव बढ्दै जानु, वनमा मिचाहा प्रजाति बढ्दै गएपछि हात्तीको आहारा घटेर हात्ती गाउँ प्रवेश गर्ने गरेका छन्।

दिनानुदिन हुलमा आउने हात्तीले गर्ने गरेको मानवीय एवं भौतिक क्षति डरलाग्दो रहेको छ ।पछिल्लो दुई दशकमा हात्तीको आक्रमणबाट नेपालभर ३०० जनाको मृत्यु भएको छ ।आर्थिक वर्ष २०६८ पछि झापामा ६८ जना र जलथल वन क्षेत्रमा मात्रै २० जना मानिसको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। यसैगरी आर्थिक वर्ष २०६७÷०६८ देखि २०८०÷०८१ सम्ममा २१ वटा हात्तीको मृत्यु भएको छ । जसमा ६ वटा जलथल क्षेत्रमा मरेका थिए।

यो अवधिमा हात्तीबाट विभिन्न प्रकारले पीडित बनेका ४ हजार ५ सय हात्तीपीडितलाई ९ करोड राहत वितरण गरिएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिएकी छन् ।
वनमा पर्याप्त खाना नपाएपछि हात्ती गाउँ प्रवेश गर्ने गरेकाले डिभिजन वन कार्यालय, फरेष्ट एक्सन नेपाल , महासंघ र सामुदायिक वन उपभोक्ता समूहहरूको संयुक्त प्रयासमा जलथलका सबैजसो वनमा पछिल्लो समय हात्ती आहाल बस्ने एवं पानी खाने पोखरी सरसफाई तथा निर्माण,हात्तीलाई मनपर्ने फलफूल अम्बा,आँप, औटेङगा,केरा ,बाँस तथा अन्य बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जंगलको हात्तीलाई जंगलमै रोक्नसके हात्तीको अस्तित्व बचाउन सकिने निश्चित छ।

धान, मकैलगायतका बालीको समयमा हात्तीले बढी दुःख दिने गरेकाले हात्तीले नखाने बाली परिवर्तन जस्तै चियालगायतको खेती गर्नसके यो समस्या केही कम गर्न सकिने डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुलीले बताए।
झापामा विशेष गरी भारतबाट हात्ती आउने जाने गरेकाले अन्तरसीमा द्वन्द्व न्यूनीकरण दुवै देशको समन्वयमा मात्रै सम्भव देखिन्छ।

अर्कोतर्फ मानव–हात्ती द्वन्द्वका कारण हुने क्षतिको राहत वितरण अत्यन्तै झन्झटिलो र ढिलो हुने भएकाले तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन आवश्यक देखिन्छ । यसैगरी हात्तीबाट बढी प्रभावित क्षेत्रका बासिन्दाको बाली बिमा गर्नसके केही राहत मिल्ने अपेक्षा रहेको पाइन्छ।

हात्ती दिवसका अवसरमा कचनकवलका विभिन्न स्थानमा अन्तरक्रिया आयोजना गरिएको थियो ।
कचनकवलको मोती माध्यमिक विद्यालयमा मानव– हात्ती सहअस्तित्वसम्बन्धी अन्तरक्रियामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंशी ,कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई , विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत, फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लिलानाथ शर्मा, डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुली, राजु खडका, वन्यजन्तु संरक्षणकर्मी देवेन खरेललगायत कचनकवलका जनप्रतिनिधिहरू, शिक्षक ,विद्यार्थी एवम् सरोकारवालाहरूसँग छलफल गरिएको थियो।

यसैगरी स्थानीय महासंघ कचनकवलको आयोजनामा भएको कार्यक्रममा स्थानीय महासंघका अध्यक्ष चेतराज भट्टराई,अभिमुक्तेश्वर सामुदायिक वन समूहका अध्यक्ष राम खनाल,दुर्गाभिट्टा सामुदायिक वन समूहका अध्यक्ष धनराज गुरुङ, पूर्वदेउराली समूहका अध्यक्ष पदम राईलगायत वनका अभियन्ताहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा हात्तीसँग सम्बन्धित विभिन्न विषय,मानव– हात्ती द्वन्द्व र मानव– हात्ती सहअस्तित्व सम्बन्धमा चुनौती र समाधानका उपायहरुबारे अन्तरक्रिया गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्