झापा, भदौ १८ । झापाको बिर्तामोड– ८ गरामनीमा रहेको साझा सहकारी संस्थाको सार्वजनिक सम्पत्ति संरक्षण गर्न बिर्तामोड नगरपालिका उदासीन देखिएको छ ।

साझा संस्थाको सम्पत्ति अपचलन भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । साझा सहकारीको नाममा रहेको जग्गा , भवन र गोदाम घरको दुरुपयोग भइरहेको भन्दै संरक्षणका लागि नगरपालिकाको ध्यानाकर्षण गराउँदा नगरपालिकाले वडा कार्यालयसंग लिखित निर्णयसहित सिफारिस माग गरेको थियो । वडा कार्यालयले साझा सहकारी संस्था नरहेको अबस्थामा अव्यवस्थित रुपमा व्यक्तिगत रुपमा प्रयोग भइरहेकाले अब उप्रान्त उक्त सार्वजनिक सम्पत्ति नगरपालिकामार्फत संरक्षण र व्यवस्थापन गरिदिन र भाडासमेत नगरपालिकामार्फत लगाउने व्यवस्था मिलाइदिन आग्रह गरेको थियो । भदौ १५ गते वडा समितिको बैठक बसेर सो निर्णय गरिएको थियो ।

निर्णयसहितको आग्रह गर्दा नगरपालिकाले साझा सहकारी संस्थाको सम्पत्ति संरक्षणमा चासो नदेखाएको वडाध्यक्ष कार्कीले बताए । सहकारी संस्थाको समस्या स्थानीय सरकारले मिलाउन नसक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा पन्छिएको उनले आरोप लगाएका छन् ।

त्यस विषयमा प्रमुख प्रशासकीय अधिकृत खतिवडासंग बुझ्दा उनले साझा सहकारी संस्थाको सम्पत्ति संघीय सरकारअन्तर्गत पर्ने भएकाले नगरपालिकाले हेर्न नमिल्ने प्रतिक्रिया दिए । उनले डिभिजन सहकारी कार्यालयअन्तर्गत दर्ता रहेको साझा सहकारी संस्थाका बारेमा सहकारी रजिष्ट्रार कार्यालयले हेर्ने बताउँदै नगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पारे ।

साझा सहकारीको नाममा रहेको जग्गा , त्यसको भवन र गोदाम घरको बारेमा जनप्रतिनिधिसहित पार्टी प्रतिनिधि र स्थानीयले चासो राखेर खोज्न थालेका छन् । साझा सहकारीको सम्पत्तिका बारेमा कसैलाई जानकारी छैन । संस्था अस्तित्वमा नरहेपछि त्यसको सम्पत्तिमाथि मनोमानी हुँदै आएको बताइन्छ । संस्थाको पाँचवटा कोठा प्रहरी चौकीले उपयोग गरिरहेको छ । त्यस्तै गोदाम घर व्यवसायी विष्णु चुडालले वर्षौदेखि प्रयोग गरिरहेका छन् । उनलाई कसले र कसरी भाडामा दिए भन्ने खुलेको छैन । संस्थाको जग्गा साढे चार कठ्ठा रहेकोमा एक कठ्ठा बिक्री गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्