झापा, भदौ १९ । वीरता जेसीजले यो वर्ष २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

बिर्तामोड एजुकेसन फाउन्डेसनको सहकार्यमा विपन्न समुदायका २० जना विद्यार्थीलाई तीन महिने निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको हो ।

सो सम्बन्धमा वीरता जेसीज र फाउन्डेसनबीच सम्झौतापत्रमा बुधवार हस्ताक्षर भएको छ । जेसीजका सन् २०२४ का अध्यक्ष विकास बस्नेत र फाउन्डेसनका सञ्चालक राज कार्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

१८ देखि ४० वर्ष उमेर समूहका युवा युवतीहरुको व्यक्तित्व तथा नेतृत्व विकास गर्दै समाजप्रति युवाहरुलाई उसको दायित्व निर्वाहमा जिम्मेवार बनाउन विविध कार्यक्रममार्फत वीरता जेसीज मानव सेवा र सामाजिक कार्यमा समर्पित रहेको छ ।सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले आफ्नो स्थापनाकालदेखि तालिम तथा समाज रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

तालिम कार्यक्रमका संयोजक कार्यकारिणी उपाध्यक्ष एलसी श्रेष्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व अध्यक्ष तथा नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, फाउन्डेसनका सञ्चालक कार्की, जेसीजका पूर्वअध्यक्षहरु एकराज गिरी, घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जेसीजका महासचिव सुमन पोद्धारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुशील थापाले आस्था वाचन गरेका थिए । मिसन भिजन वीरता जुनियरका कानुनी सल्लाहकार निसिम थाम्सुहाङले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्