झापा,भदौ २८ । मोरङको रंगेली नगरपालिकामा कर वृद्धिको विरोधमा नेपाली कांग्रेसले सुरू गरेको आन्दोलन अराजकतातर्फ उन्मुख हुँदै गएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन थप उग्र बन्दै गएको हो । आन्दोलनकारीले प्रदर्शन गर्दै शुक्रबार रंगेली बजार र यातायात बन्द गराएका छन् ।
मुख्य सडकमा रोक लगाइएपछि प्रहरीले भित्री सडकबाट सवारीसाधन सञ्चालन गराएको छ । बन्दका कारण बजार र यातायात ठप्प भएको छ । त्यसअघि कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारीमाथि हातपात एवं दुव्र्यवहार गरिएको रंगेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले बताए ।
उनका अनुसार बिहान ९ बजेदेखि नै आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए । ‘आन्दोलनकारीहरू ९ बजेदेखि नै भेला भएर गेटमा बसेका थिए । कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरे,’आचार्य भन्छन्, ‘कर्मचारीमाथि हातपात र दुव्र्र्यवहार भएको छ । बजार र यातायात बन्द गराएका छन् ।’
त्यस क्रममा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । रंगेली–२ का ४३ वर्षीय सुवास सिग्देललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी कांग्रेस मोरङ क्षेत्र नम्बर २ का सचिव रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार उनीलगायतले कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेका थिए ।
आन्दोलनको नेतृत्व कांग्रेस मोरङका सचिव मोदराज घिमिरे र रंगेली नगर सभापति जगरनाथ मण्डलले गरिरहेका छन् । कर्मचारीलाई अवरोध गर्ने योजनासहित आज बिहानदैखि करिब १ सय ५० जनाको संख्यामा कांग्रेस कार्यकर्ताहरु नगरपालिकाअगाडि भेला भएका थिए ।
आन्दोलनको नेतृत्वकर्ता घिमिरे गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का दिलिप बगडियासँग मेयरमा पराजित भएका थिए । नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको भन्दै केही दिनदेखि कांग्रेसले आन्दोलन गरिरहेको छ ।
मेयर बगडिया भाइको उपचारका लागि भारतमा छन् । उनी भारत भएकै बेला कांग्रेसले आन्दोलन चर्काएको हो । वृद्धि गरिएको कर तत्काल नघटाए आन्दोलनलाई थप सशक्त बनाउने घोषणा कांग्रेसको छ ।