झापा , भदौ २८ । सर्वोच्च अदालतले परिवारमा अंशवण्डा गर्नु भनेर फैसला सुनाएकोमा त्यस आदेशलाई उल्लंघन गर्दै मालपोत कार्यालय झापाले अंशवण्डा नै नगराई एकलौटी जग्गा बिक्री गराएको छ ।
भद्रपुर ४ का रेनुका केसी र उनका छोरा सुरज केसीले साविक चारपाने र हाल बिर्तामोड २ मा रहेको सगोलको ३ कठ्ठा १३ धुर जग्गाको अंशका लागि मुद्धा हालेका थिए । श्यामबहादुर केसीका कान्छी श्रीमती रेनुका र उनका छोरा सुरजले जेठी श्रीमती राधिका , उनीपट्टिका छोराहरु मनोज, सरोज र छोरी सरितालाई प्रतिवादी बनाई अंश मुद्धा हालेका थिए । सो मुद्धाका विषयमा सर्वोच्च अदालतले मिति २०७१ बैशाख २९ गते फैसला सुनाएको थियो ।
वादीको हकमा दुई र प्रतिवादीको हकमा ४ भाग गरी त्यस जग्गालाई ६ भाग लगाउनु भनेर सर्वोच्चले फैसला गरेको थियो । सर्वोच्चले फैसलासहित त्यसलाई कार्यान्वयन गर्न गराउन मालपोत कार्यालय झापालाई आदेशसहितको पत्र पठाएको थियो । तर, मालपोत कार्यालयले अंशवण्डा नै नगराई त्यस जग्गा वादीलाई एकलौटी बिक्री गर्न दिएको हो । रेनुका र उनका छोरा सुरज केसीले पुरै ३ कठ्ठा १३ धुर जग्गा बिर्तामोडकी प्रियंका गोयललाई बिक्री गरेका हुन् । २ करोड २ लाख थैली राखिएको त्यस जग्गा राजीनामा पास गर्दा ६ लाख ६ हजार रुपैयाँ राजस्व बुझाएको देखिन्छ ।
यसरी सर्वोच्च अदालतले अंशवण्डाको आदेश दिइसकेको जग्गालाई मालपोत कार्यालयले एकलौटी बिक्री गर्न दिएर आफूहरुको अंश खाइदिएको भन्दै प्रतिवादीहरुले आपत्ति जनाएका छन् । भद्रपुर ४ का मनोज केसीले आज पत्रकार सम्मेलन गरी मालपोत कार्यालयले ठूलो गल्ती गरेको बताए । उनले बिक्री गरिसकेको आफ्नो भागको जग्गालाई फिर्ता गराई त्यसमा संलग्न सबैलाई कार्वाही हुनुपर्ने माग गरेका छन् । मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले गल्ती स्वीकार गर्दै एक साताभित्र जग्गा फिर्ता गर्न लगाउने आश्वासन दिएको केसीले जानकारी दिए । यस विषयमा बुझ्दा आफूहरुबाट प्राविधिक त्रुटि भएको मालपोतका एक अधिकारीले बताए । उनले केही दिनभित्रै त्यसलाई मिलाउने जानकारी दिएका छन् ।