झापा, असोज ६ । बलजफ्ती गरी गरामनीको अस्थायी प्रहरी चौकी सार्ने कार्य नगर्न चार राजनीतिक दलले चेतावनी दिएका छन् ।
उनीहरुले यदि बलजफ्ती गरी प्रहरी चौकी सार्ने कार्य गरिएको अवस्थामा कुनै पनि दुर्घटना हुन गएमा सम्बन्धित सरोकारवालाले जिम्मा लिनुपर्ने चेतावनी दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका नगर प्रमुखहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी स्थानीय स्तरबाट सो अस्थाई प्रहरी चौकी अन्यत्रसार्न नहुने भन्ने चौतर्फी दवाव हुँदाहँुदै केही ब्यक्तिहरुको निजी स्वार्थका कारण जसरी पनि प्रहरी चौकी सार्ने भन्दै लागिपरेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रन्जु प्याकुरेल , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा , राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति शम्भु भण्डारी र एकीकृत समाजवादी पार्टीका नगर इन्चार्ज श्रीप्रसाद मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानान्तरण गर्ने भनिएको स्थान अनुपयुक्त रहेको हामी दलहरुको ठम्याइ रहेको छ। सो प्रहरी चौकीलाई सोही साझा संस्थाको आवश्यकता अनुसारको जग्गामा कानुनी प्रावधानबाट नै हस्तान्तरण गरि यथास्थानमा ब्यबस्थापन गरिनु पर्ने आवश्यकता रहेको छ।’
बिर्तामोड नगरपालिका वडा नं ८ गरामनी बजारमा रहेको गरामनी साझा सहकारी संस्थाको भवनको ५ वटा कोठा प्रयोग गरी अस्थायी प्रहरी चौकी बिगत १७–१८ बर्षदेखि रहँदै आएको छ। उक्त सहकारी भवन बिगत २५ बर्षदेखि बेवारिसे अवस्थामा रहेको छ।