झापा, असोज १० । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क निर्धारणको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रीय बैङ्कले यसअघि आर्थिक वर्ष २०७१÷७२ लाई आधार वर्ष मान्दै आएकामा यस वर्षदेखि २०८०÷८१ लाई आधार मान्ने भएको छ ।

राष्ट्र बैङ्कले योसँगै मूल्य सूचक वस्तुहरूको सूची पनि परिमार्जन गरेको छ । यसअघि ४९६ वस्तुको मूल्यका आधारमा सूचकाङ्क तयार गर्ने गरेमा सो सूचीमा रहेका असान्दर्भिक १०६ वटा हटाई प्रचलित १३५ वटा वस्तु थप गरेर ५२५ पु¥याएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । “राष्ट्र बैङ्कले मूल्य सूचकाङ्कलाई समयसापेक्ष र वास्तविक प्रतिनिधित्व गराउने गरी आधार वर्ष र वस्तु सूची संशोधन गरेको छ,” उनले भने, “यस वर्षदेखि सार्वजनिक हुने मूल्य सूचकाङ्क विवरणमा ७७ जिल्ला नै समेटिने छ भने प्रदेशस्तरीय सूचक पनि सार्वजनिक गर्न थालिने छ ।”

राष्ट्र बैङ्कले यसअघि मुद्रास्फीति निर्धारण गर्दा आफैँले घरपरिवार बजेट सर्वेक्षण गर्ने गरेकामा अब केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्याङ्कलाई मान्ने भएको छ ।

आधार वर्ष परिवर्तनसँगै वस्तु समूहको भार पनि संशोधन भएको छ । यसअघि खाद्य तथा पेय पदार्थको भार ४३.९१ प्रतिशत रहेकामा अहिले ४५.७९ पुगेको छ भने गैरखाद्य तथा सेवाको हिस्सा ५६.०९ बाट ५४.२१ प्रतिशतमा झारिएको छ ।

योसँगै राष्ट्र बैङ्कले शोधनान्तर स्थितिको तथ्याङ्क सङ्कलन तथा प्रस्तुतीकरणको विधि पनि परिमार्जन गरेको जनाएको छ । यसअघि बिपिएम–५ का आधारमा शोधनान्तरको स्थिति विवरण सार्वजनिक हुँदै आएकामा विपिएम–६ कार्यान्वयन थालिएको छ । गभर्नर अधिकारीले विश्व प्रचलित र सहज अभ्यास अनुसरण गर्ने क्रममा यस्तो परिमार्जन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्