झापा, असोज १२। अविरल वर्षापछि आएको बाढीले झापामा ७ वटा पुल र एउटा कल्भर्टमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले अर्जुनधाराको बिरिङ नदीको पुल, झापा गाउँपालिकाको बिरिङ नदीको पुल र बाह्रदशीको अधुवा खोलाको काठे पुलमा क्षति पुर्याएको हो ।
शुक्रबार साँझ साढे ७ बजे वर्षाका कारण झापा गाउँपालिका– ५ पन्थापाडास्थित बिरिङ नदीमा आएको बाढीले हुलाकी राजमार्ग जोड्ने पक्की पुलमा क्षति पुर्याएको छ । बाढीले पुलको पश्चिमपट्टीे १० मिटर जति भाग कटान गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
हाल हुलाकी राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । ११ वर्षपछि बनेको बिरिङ पुलमा बाढीले क्षति पु¥याएपछि फेरि त्यहाँका स्थानीय निराश बनेका छन् । उनीहरूले छिटोभन्दा छिटो पुल सुचारु गराउन माग गरेका छन् ।
त्यस्तै अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्ण रुपमा क्षतिग्रस्त भएपछि गएरातिदेखि नै आवागमन बन्द गरिएको छ । यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको हो । पुलको दक्षिण साइडको अन्दाजी १० मिटर पुल बगाएको छ ।
बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा–७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका सवारीसाधनहरू सञ्चालन भइरहेको डीएसपी चन्दले बताए । त्यसैगरी शुक्रबार राति ८ बजेर २० मिनेटको समयमा बाह्रदशी गाउँपालिका ३ कोनाबारीस्थित पूर्वपश्चिम जोड्ने अधुवा खोलामा रहेको काठको पुलमा क्षति पुर्याएको छ ।
खोलामा बढेको बहावका कारण काठको पुलको बीच भाग भाँचिएकोले आवागमन बन्द गरिएको छ । अहिले त्यहाँका स्थानीयहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । यता मेची राजमार्गअन्तर्गत चारआली केचना सडकखण्डमा पर्ने कल्भर्टमा क्षति पुगेको छ ।
खोलामा आएको बाढीले भद्रपुर नगरपालिका १ र कचनकवल गाउँपालिका ६ जोड्ने राजमार्ग रहेको कल्भर्टको दुवैतर्फ सामान्य क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
त्यस्तै अबिरल बर्षाका कारण हल्दिबारी गाउँपालिका वडा नं.१ को बिभिन्न स्थानमा क्षति पुगेको छ ।
हल्दिबारी– १ गोलधापबाट बाह्रदशी– ३ राजमार्ग जाने बाटो जल्पा बस्ती पश्चिमको काठे पुलको बिच भाग बगाई पूर्णरुपमा क्षति भएको छ भने हल्दिबारी– १ बाट दक्षिण हुलाकी राजमार्ग जोड्ने रोड कटान गरेर बाटो अबरुद्ध भएको छ ।
त्यस्तै फाल्गुनन्द चोक पूर्व हल्दिबारी – १ र ५ को कन्चनश्री जोड्ने काठेपुलको बिच भाग बगाएको छ ।त्यस्तै हल्दिबारी– १ र ५ जाने बाटोको काठको पुल बिच भागको सबै बगाएको छ ।
हल्दिबारी– १ आशामोडदेखि पूर्व रामचोक जाने बाटो ठाउँ ठाउँमा बाटो बगाएको छ भने हल्दिबारी १ शंकर चोकदेखि उत्तर मन्त्री चोक जोड्ने वासमनी रोडको चार ठाउँमा सामान्य क्षति भएको छ ।
त्यस्तै कचनकवल गाउँपालिका वडा नं १स्थित हिमाली सडकदेखि पूर्व पुरण टोल जाने बाटोमा अरिवल वर्षाका कारण पानीको बहावले काठको पुलछेउमा बाटो काटेको र पुल पनि जोखिमा रहेको छ ।
अस्थाई प्रहरी चौकी कुट्टीमा जानकारी प्राप्त भएपछि अस्थाई प्रहरी चौकी कुट्टीबाट टोली खटिएर स्थानीय ,जनप्रतिनिधिसमेतको उपस्थितिमा रोकथाम गर्ने कार्य भइरहेको जनाइएको छ ।