झापा, असोज १२ । अबिरल वर्षाका कारण कन्काई नदीमा आएको बाढीले झापा र गौरीगञ्ज गाउँपालिकाका करिव एक दर्जन बस्ती डुबानमा परेका छन् ।

गौरीगञ्जतर्फ जनताको तटबन्धअन्तर्गतको कन्काई बाँध फुटेको छ । गौरीगंज गाउँपालिका वडा नं. १ स्थित इश्वर बस्ती उत्तरपूर्व कन्काई नदीको बाँध भत्किएको हो । साँझ ६ः३० बजे हुलाकी सडकको उत्तरपट्टि कन्काईको बाँध भत्किएपछि नदीको पानी बस्तीमा पसेको छ भने बस्तीका मानिसहरु धमाधम घरका सरसामान र वस्तुभाउ नजिकैको सुरक्षित स्थानमा सारिरहेकोे वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् ।

बाँध फुटेसँगै वडा नं १ को ईश्वर बस्ती, टप्पु बस्ती, धनगडा र भिम सुब्बाको बस्ती डुबाउने खतरा बढेको छ । त्यसैगरी पानीको बहाबले हुलाकी सडक भत्काए होकलवाडी र चौरी समेत खतरामा पर्ने प्रवल सम्भावना रहेको स्थानीय केशवप्रसाद भट्टराईले बताए । कन्काईको बाँध फुटेपछि नेपाली सेना , सशस्त्र प्रहरी , र जनपद प्रहरीलाई स्टेन्डबाई राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए । चारआलीस्थित अरिदमन गणको सेनाको टोली घटनास्थलमा पुगिसकेको जनाइएको छ ।

यता कन्काईको बाढीले झापा गाउँपालिका वडा नं १ र २ का आधा दर्जन बढी बस्ती डुबानमा परेका छन् ।कुवाडी , सुगाबथान , सडकवारी , सितुमारी , सिमलवारी , मिलनबस्ती , लसुनगंज , सालमारालगायतका बस्ती डुबानमा परेका हुन् । डुबानमा परेपछि ती बस्तीका बासिन्दाहरुलाई धमाधम सार्ने कार्य भइरहेको छ ।

सितुमारीको मनोज मित्तल प्राथमिक विद्यालयमा २० परिवारलाई स्थानान्तरण गरिएको छ । त्यस्तै सुगाबथानका ६६ घरपरिवारलाई पनि सार्ने तयारी भइरहेको छ । झापा गाउँपालिकातर्फ सुगाबथानको पश्चिमपट्टि कन्काईले बाँध फुटाउन लागेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्