झापा , असोज १४ । वर्षा रोकिएपनि बाढी पहिरोको खतरा अझै टरिसकेको छैन ।

गएराति अन्दाजी १० बजे संखुवासभा मकालु गाउँपालिका –५ फाक्सिन्दा दोभानस्थित अरुण तेस्रो जलबिद्युत परियोजनाअन्तर्गत जेपी कम्पनीको सुरुङभित्र काम गर्ने एक कामदार गंभीर घाइते भएका छन् । भारत गाँजीपुर फाना बस्ने बर्ष अन्दाजी ४५ का श्याम सुन्दर नामले चिनिने कामदार घाइते भएका हुन् । जेपी कम्पनीको मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । टाउकोमा चोट लागेका उनलाई आज बिहान ४ः३० बजे धरान घोपा रेफर गरिएको छ ।

त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिकामा पहिरोले तीनवटा घरमा क्षति गरेको छ । पहिरोले घर पुर्दा ९ वटा चौपाया मरेका छन् । महालक्ष्मी नगरपालिका वडा नं.– २ त्रिनागी टोल बस्ने पदमबहादुर लुङ्गेलीको ढुङ्गा, माटो र खरको छानोले बनेको ३ तले घर जोखिममा परेपछि उनीहरुको परिवारलाई छिमेकीको घरमा सारिएको थियो । मानिसहरु छिमेकीकोमा सरेपनि लुङ्गेलीको गोठमै रहेका चौपाया पुरिएका हुन् ।

हिजो दिउँसो अन्दाजी ४ बजे पहिरोले क्षति गर्दा गोठमा बाँधेको एक–एक वटा गाई, बाच्छी, खसी,संगुर र दुईवटा बाख्रा मरेका हुन् । त्यस्तै छिमेकी तिलबहादुर मगरको गोठमा पहिरोले क्षति गर्दा गोठमा बाँधेको ३ वटा गाई र एउटा बाच्छी मरेका छन् । त्यस्तै प्रेमबहादुर मगरको घर पहिरोका कारण जोखिममा परेपछि उनको परिवारलाई छिमेकीको घरमा सारिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्