इलाम , असोज १५ । अपराध संहिता, २०७४ ले सट्टेबाजीलाई जुवाको रूपमा व्याख्या गरेको छ । जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी वा खेलिने खेल सम्झनुपर्ने व्याख्या छ । यसैगरी सट्टेबाजी भन्नाले कानुन बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी सम्झनुपर्ने कानुनी व्याख्या छ । तर ऐतिहासिक खेल भन्दै विगत वर्षदेखि इलाममा खेलाउँदै आएको बिङ्गो (हाउजी) खेलबाट उठेको रकममा अनुमति दिने संस्थाकै आडबाट सामाजिक भ्रष्टाचार भएको छ ।

गत वर्ष इलाम नगरपालिकाको अनुमतिमा इलाम नगर प्रतिष्ठानको आयोजनामा भएको खेलबाट उठेको रकममा अनुमति दिनु इलाम नगरपालिकाकै आडबाट सामाजिक भ्रष्टाचार भएको हो ।

गत वर्षको असोज २८ देखि मंसिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको रकमबारे एक वर्ष बित्दा पनि सार्वजनिक भएको छैन । इलाम नगरपालिकाले अहिलेसम्म हिसाबबारे पन्छिनुले अनुमति दिने संस्थाकै आडमा सामाजिक भ्रष्टाचार भएको देखिन्छ । गत वर्ष इलाम नगरपालिकाको अनुमतिमा इलाम नगर प्रतिष्ठानले आयोजना गरेको खेलबाट उठेको रकममा पारदर्शिता नभएपनि अहिलेसम्म इलाम नगरपालिकाले खोजी गर्नुको साटो नगर प्रमुख केदार थापा तर्किनुले उनकै आडमा सामाजिक भ्रष्टाचार भएको स्थानीयको बुझाई छ ।

इलाम नगरपालिका– ९ का राजेन्द्र शर्मा पुरानो हिसाव नमिलाई नयाँ अनुमति दिँदा आम मानिसमा नराम्रो सन्देश जाने भन्दै पुरानो हिसाब क्लियर गराउनु पर्ने बताउँछन् । चाख्न पल्केपछि जुनसुकै अवस्थामा पनि लागिपर्ने गरेको उनी तर्क गर्छन् । ‘खानेपानी त नछोड्नेले यस्ता खेलमा आड दिनु त सामान्य बनेको छ ’ उनी भन्छन्,‘स्थानीय सरकारले ऐतिहासिक खेलको नाममा जुवा खेल्न दिने अनि हिसाब गोलमाल बनाउँदा चुप लागेर बस्नुपर्ने कुन नियमअन्तर्गत रहेछ ।’

त्यस्तै इलाम बजारका युवा व्यवसायी केशव खनालले सामाजिक सञ्जालमा व्यंग्य गर्दै लेखेका छन्, ‘दशैको सबैमा शुभकामना मेरो । सामाजिक उत्तरदायित्वअन्तर्गत हिसाब पहिलाको क्लियर नहुन्जेल चुप बस्न सकिँदैन भन्दै मम गरौँ । आम इलामेली हाउजी लभरको प्रश्न पछाडी क्लियर भएर मात्रै अघि बढौँ ।’ उनको यो लेखाईबाट नै हाउजीको नाममा सामाजिक भ्रष्टाचार भएको प्रष्ट हुन्छ । इलामकी सञ्चारकर्मी सिर्जना श्रेष्ठ ‘सामाजिक सञ्जालमा अनि कि दशैँ तिहार आउँदै छ प्रहरीले जुवातास खेल्नेलाई समात्छ अनि हाउजी पनि एक प्रकारको जुवा नै हो अब के हुन्छ ? पोहोरको हिसाब नै मिलेको छैन यो पाली के हुने हो फेरि एक दुई दिन हैन महिनौँ दिन खेलाउनु त भएन नि ? ’ भन्दै फेसबुकमा लेखेकी छन् ।

यता इलाम नगरपालिकाका नगर प्रमुख थापाले ऐतिहासिक रूपमा खेलिँदै आएको र यस वर्ष पनि खेलाउने तयारीमा इलामकै संस्थालाई जिम्मा दिइसकेको बताए । तर गत वर्ष इलाम नगर प्रतिष्ठानले खेलाएको हाउजीको हिसाव के भयो भन्ने प्रश्नमा फोन काटेर उनी पन्छिन खोजे । उनको यो आसयबाटै गत वर्षको हिसाव किताब पारदर्शिताको बारेमा नगर प्रमुखकै आड रहेको देखिन्छ । नगरपालिकाकै मातहतमा रहेको नगर प्रतिष्ठानले खेलाएको हाउजीको हिसावको विषयमा नगर प्रमुखले ‘कहिले यो विषयमा नबोलौँ ’ भन्नु र कहिले फोन राख्नुले उनकै संलग्नता भएको अनुमान लगाउन सकिन्छ ।

उता प्रशासन भने बेखबरजस्तै बनेको छ । हाउजीको विषयलाई लिएर हिसाब गोलमाल भएको समाचार आउँदा समेत थाहा नभएजस्तै बनेर अनुमति दिने तयारीमा बसेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सरकारले अनुमति दियो भने प्रशासनले सुरक्षा दिने बताइन । उनले सरकारले अनुमति दिए त्यसको निगरानी प्रशासनले नै गर्नुपर्ने भन्दै स्वीकृति, पारदर्शिता र अनुमति दिने संस्थाले नै गर्ने हो प्रशासनले सुरक्षा मात्रै दिने बताइन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बिङ्गो भनेर कतै उल्लेख छैन तर बाजी थापेर खेलिने खेल कानुनले निषेध गरेको बताए । उनका अनुसार कुन कुन खेल भन्ने उल्लेख छैन । बिङ्गो बाजी थापेर नै खेलिने खेल हैन र भन्दा यो परिभाषा आफूले गर्ने हैन भन्ने उनले जवाफ दिए ।
गत वर्ष इलाम नगरपालिकाले अनुमति दिएपछि इलाम नगर प्रतिष्ठानसहितका अन्य संस्थाहरूको संयुक्त आयोजनामा ४१ दिन बिङ्गो सञ्चालन भएको थियो । खेल सम्पन्न भएपश्चात् हिसाबको पारदर्शिता गर्ने भन्दै दुई पटकसम्म पत्रकार सम्मेलन गरेपनि हिसाब देखाउन नसकेको समितिले एक वर्षसम्म पनि हिसाब मिलाएर सार्वजनिक गर्न नसक्दा अहिलेसम्म सामाजिक रूपमा प्रश्न उठिरहेको छ ।
नगर प्रतिष्ठानले दैनिक हिसाब देखाउन नसकेपछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजकले एक वर्ष बित्दा पनि हिसाव देखाउन सकेन । जसका कारण सामाजिक भ्रष्टाचार भएको प्रष्ट हुँदाहुँदै पनि नगरपालिकाले केही गर्न सकेन ।

लाखौँ रुपैयाँको चिट्ठा कारोबार भएको हाउजीको आय–व्यय विवरण आयोजकले देखाएकै आधारमा विश्वास गर्नुपर्ने अवस्था छ । सिङ्गो खेलमा भएको आम्दानी र खर्चको विवरणको लेखा परीक्षण हुँदैन । आयोजक संस्थाले आफ्नो लेखा परीक्षण गराउँदा हाउजीबाट भएको आम्दानीसम्म देखाउन सक्छन् तर, खर्च चाहिँ त्यहाँ पनि देखिँदैन । त्यसैले ठुलो आर्थिक कारोबार लेखा परीक्षणबिनै भइरहेको हुन्छ । आफ्नै संलग्नतामा सञ्चालन भएको खेल हाउजीको हिसाब गोलमालसम्बन्धी स्थानीय सरकार मुकदर्शक बनेको छ ।

आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाएपनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । आयोजकले टिकटको यकिन तथ्याङ्क नै दिन नसक्नुले हचुवाका तालमा खेल खेलाएर आर्थिक चलखेल गरेको प्रष्ट हुन्छ । आयोजकले खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क दिन नसकेपछि संस्थाको कमजोरी रहेको प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडाले पत्रकार सम्मेलनमा स्वीकार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्