
झापा,असोज २१ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गर्ने प्रवृत्ति बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्याङ्कले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखाएको छ ।
२०७५ सालदेखि २०८० सालसम्म नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गर्ने २२५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार २०७५ देखि २०८० सम्म तीन हजार ५३९ जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी परेको थियो ।
सरकारी सेवामा प्रवेश गर्न तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखिएको हो । सरकारी कार्यालय, संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरूले अनुचित लाभ लिने उद्देश्यले सुरू नियुक्ति र बढुवाका लागि पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा ३४ जना सरकारी कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ । झुटा प्रमाणपत्र पेस गरेको तथ्य प्रमाणित हुन आइ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) द्वारा परिभाषित कसुर गरेको देखिएकाले उनीहरूलाई साविक भ्रष्टार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) द्वारा व्यवस्थित हदैसम्मको सजाय माग गर्दै आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गर्ने गरेको हो ।