झापा, असोज २२ । अब विदेशबाट भिसा तथा मास्टरमार्फत रकम सोझै नेपालका कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने भएको छ । नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले यो सेवा सञ्चालनमा ल्याएको हो ।
इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका कुनै पनि बैंक खातामा तत्कालै जम्मा गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
कम्पनीका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय कार्ड (भिसा तथा मास्टरकार्ड) बाट रकम ट्रान्सफर गर्न सकिनेछ । जसमा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।
कम्पनीले भनेको छ, ‘‘नेपालमा सुरक्षित रूपमा तत्कालै रकम पठाउन चाहने विदेशमा रहेका मानिसलाई सहज र विश्वसनीय विकल्पको रूपमा इजीसेन्ड डिजाइन गरिएको छ, हाम्रो पात्रोले भनेको छ, चाहे तपाईं आफ्ना साथीभाइ वा घरपरिवारका लागि पठाउनु होस् अथवा कुनै व्यक्तिगत भुक्तानी नै किन नगर्नुहोस्, इजिसेन्डले तपाईंलाई भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा रकम पठाउने सुविधा दिन्छ ।’’
यसरी पठाइएको रकम तुरुन्तै नेपाली बैंक खातामा जम्मा गरिने र रकम पठाउने कार्य सम्पन्न हुने बित्तिकै प्राप्त रकम प्रयोग गर्न सकिनेछ । भिसा तथा मास्टर कार्डको रकम पठाउने कार्य निकै सहज र थोरै चरणमा सम्पन्न गर्न सकिन्छ ।