शिवगञ्ज, असोज २२ । नेकपा एमाले शिवसताक्षी ६ नम्बर वडा कमिटीले चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम मंगलवार सम्पन्न गरेको छ ।

पार्टीका वडाध्यक्ष सुजन भेटवालका अनुसार सो कार्यक्रममा बडादशैं, शुभ दिपावली, छठ पर्व, चासोक तोङनाम, नेपाल सम्वतलगायतका पर्वहरू भव्य रूपले मनाउन आम नेपालीलाई शुभकामना प्रदान गरिएको थियो।
शुभकामना आदानप्रदानपश्चात् पार्टीको विस्तारित वडा कमिटीको बैठक पनि सम्पन्न भएको पार्टीका वडा अध्यक्ष भेटवालले जानकारी दिए । सो बैठकमा शान्ति सुरक्षाको प्रत्याभूत हुनेगरी नेपालीहरूले मनाउने हरेक पर्व हर्ष उल्लासका साथ मनाउन वडाबासीलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय भएको छ। आर्थिक विपन्नता, बाढीबाट विस्थापित, अग्निपीडित, प्राणघातक रोगबाट पीडित, द्वन्द्वपीडितलगायतलाई हरतरहको सहयोग गर्ने पार्टी वडा कमिटीले जनाएको छ। वडामा दैविक विपत्तिमा परेका कोही त्यस्ता नागरिक भए नेकपा एमालेको वडा कमिटीमा सोझै सम्पर्क गर्न समेत पार्टीका वडा अध्यक्ष भेटवालले अपिल गरेका छन्।
वडा कमिटीका अध्यक्ष भेटवालको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एलपी सावा लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका शिवशताक्षी नगर इन्चार्ज चन्द्रकुमार शेर्मा, नेकपा एमाले झापा जिल्ला सल्लाहकार परिषद्का संयोजक एवं ४ नम्बर क्षेत्र क का सांसद राधाकृष्ण खनाल, क्षेत्रीय संयोजक धनबहादुर थेवे, पार्टीका कोशी प्रदेश सल्लाहकार समिति सदस्य डम्बर अधिकारी, पार्टीका झापा जिल्ला सचिवालय सदस्यसमेत रहेका शिवसताक्षी नगरपालिका ५ नम्बर वडाका अध्यक्ष सिकिन पासवानलगायतका नेता कार्यकर्ताको सहभागिता थियो।
पार्टीका वडा कमिटी सहसचिव रन्जु खतिवडाले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन सचिव भोलानाथ गुरागाईले गरेका थिए।
तेस्रो वडा अधिवेशनबाट निर्वाचित वडा कमिटीले हालसम्म दुईवटा विस्तारित वडा भेला सम्पन्न गरेको छ भने एउटा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ। पार्टीको ६ नम्बर वडा कमिटी अन्य वडाभन्दा अब्बल रहेको पार्टीभित्रकै नेता कार्यकर्ताले बताएका छन् । संगठन सुदृढीकरणको अभियानमा होमिएको वडा कमिटीले राजनीतिक, आर्थिक, संस्कृति, भौगोलिक, समसामयिक लगायतका हरेक कार्यक्रम मिसन ८४ केन्द्रित गर्न लागेको बताइएको छ ।