बिर्तामोड, असोज २२ । सार्वजनिक सुनुवाई कार्यक्रमहरु औपचारिकता पूरा गर्न मात्र आयोजना गरिन्छन् ।कार्यक्रममा उठान गरेका समस्या समाधान भएको घटना विरलै पाइन्छन् । प्रहरीले मंगलवार बिर्तामोडमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा पनि सर्वसाधारणले उठाएका जिज्ञासाको सरोकारवालाहरुले चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

सर्वसाधारणले गहन समस्याका बारेमा उठान गरेका थिए । झापा लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको, होटलहरुमा खुल्लमखुला देहव्यापार भइरहेको , ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको , आपराधिक क्रियाकलाप बढ्दै गएको जस्ता टड्कारो समस्या उठान गरेका थिए । त्यस्तै सहभागीहरुले विद्यालयका बसहरुको अराजकता, अव्यवस्थित पार्किङ, बजार अनुगमन, निजी नम्बरका गाडीहरु भाडामा प्रयोग भइरहेको जस्ता सवाल प्नि उठाएका थिए ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला , झापाका प्रहरी प्रमुख एसपी मिलन केसी , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललगायतले जवाफ दिएका थिए । गहन विषय उठाएपनि जवाफ सतही मात्र आएको एक सहभागीले बताए ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले बिर्तामोडमा मोवाइल बैकिङमार्फत ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । झापा प्रहरीलाई उनले मोवाइल मार्फत क्यूआर गर्ने नाममा भइरहेको ठगीको अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न निर्देशन दिए । प्रमुख प्रहरी केसीले जिल्लामा अपराधजन्य तथा अवैध गतिविधि हुन नदिने बताए । केसीले झापाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । ‘नागरिकको सुरक्षाका निम्ति हामी अहोरात्र खटेका छौँ,’ उनले भने, ‘कुनै गलत गतिविधि भएको सूचना भए दिनुहोस् तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउँछु ।’ उनले चाडपर्वमा चोरी निकासी जस्ता अवैध गतिविधि बढी हुने भन्दै नागरिकको सुरक्षा, सहजता र सुविधाका लागि एकीकृत सुरक्षा योजना बनाएको बताए ।

लागूऔषध नियन्त्रणका लागि प्रहरीले समुदायस्तरमा समेत काम गरिरहेको उनको भनाई थियो । अपराध न्यूनीकरणमा प्रहरी एक्लै पर्याप्त नहुने भन्दै नागरिकहरुको समेत सहयोग आवश्यक हुने उनले बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाले लागूऔषधका कारण समाज ठुलो समस्यामा परिरहेको बताएका छन् । उनले प्रहरीले आफ्नो स्रोत साधन अनुसार काम गरिरहे पनि नियन्त्रण हुन नसकेको बताए । उनले लागूऔषध सबैको साझा समस्या भएको बताए । लागूऔषध नियन्त्रणका लागि नागरिक पनि सचेत हुनुपर्ने उनको भनाई छ । ‘यो काम प्रहरीको मात्र होइन’उनले भने ,‘समाज विग्रनबाट जोगाउने दायित्व सबैको हो ।’ सबैले सचेत हुने र त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै, ट्राफिक व्यवस्थापनका सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले धारणा राखेका थिए । उनले निजी सवारी भाडामा प्रयोग गरेको विषय सूचना आएमा कारबाही गर्ने बताए । यस्तै, पार्किङका लागि अलग्गै व्यवस्थापन नभएकाले कठिनाई भएको स्वीकार गरे । यता, विद्यालयका बसहरुको विषयमा ध्यानाकर्षण भएको बताउँदै नियमन गर्ने बताएका छन् ।

सुनुवाई कार्यक्रममा पत्रकार प्रदीप परियार, पुष्प खड्का, यातायात व्यवसायी गणेश कोइराला, जनप्रतिनिधि हरि बास्कोटा, व्यवसायी युवराज निरौला, राष्ट्रिय युवा संघकी स्थायी कमिटी सदस्य नेतृ रोजिना पाण्डे, मनमोहन सामुदायिक अस्पतालका कमल भट्टराईलगायतले समस्या र सुझाव समेत राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजना र इलाका प्रहरी कार्यालय बिर्तामोडको सहआयोजनामा भएको नागरिक सुनुवाईमा बिर्तामोडका डीएसपी प्रकाश विष्टले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक विद्यासागर मेहताले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्