झापा, असोज २३ । समयमै उपचार गराउन नल्याउँदा सर्पले डसेका तीनजना महिलाको मृत्यु भएको छ ।

असोज १७ , १८ र २० गते चारआली सर्पदंशमा ढिलो गरी ल्याइएका तीन महिलाको मृत्यु भएको हो । विषालु सर्पले डसेर इलाम नगरपालिका वडा नम्बर २ सुम्बेककी ४२ वर्षिया सीता राई (दुर्गा) को मृत्यु भएको हो ।

असोज २० गते आइतबार राति शौचालय जाने क्रममा उनलाई सर्पले डसेको थियो । उनलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।
केन्द्रले उपचार गर्न नसक्ने भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष गिरीराज रिजालले बताए । ब्लाक हिमालयन करेत नामक विषालु सर्पले डस्दा मृत्यु भएको अस्पतालले बताएको वडाध्यक्ष गिरीले जानकारी दिए ।

मेची राजमार्गको माई खोलामा सडक अवरुद्ध भएकाले नयाँबजार हुँदै घुमाउरो बाटो भएर उपचारमा ल्याउँदा बढी समय लागेर बचाउन नसकिएको उनले बताए ।

त्यस्तै असोज १७ गते बिहान अन्दाजी ५ः३० बजे झापा हल्दिबारी गाउँपालिका वडा नं. ४ लक्ष्मीचोक बस्ने रामबहादुर राईकी श्रीमती ४३ वर्षीया माया राईलाई पनि बेलैमा उपचार गराउन नसक्दा उनको ज्यान गएको छ । घरमै सुतिरहेको अवस्थामा करेत नामक बिषालु सर्पले टोकी घाईते भई उपचारको लागि चारआली सर्पदंश उपचार केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगेर चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै असोज १८ गते साँझ ६ः३० बजे बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घोडामारा बस्ने प्रकाश न्यौपानेकी श्रीमती अन्दाजी ४१ वर्षीया कमला न्यौपानेलाई आफ्नै गाईगोठमा गाई बाँध्ने क्रममा दाहिनेपट्टीको खुट्टामा बिषालु सर्पले डसेको थियो । उनलाई उपचारको लागि चारआली सर्पदंश केन्द्र लगिएकोमा त्यहाँ संभव नभएपछि बीएण्डसी अस्पतालमा राति ८.५ बजे मृत्यु भएको थियो ।

ती तीनैजना विरामीहरुलाई बेलैमा उपचार गराउन नल्याउँदा बचाउन नसकिएको चारआली सर्पदंश उपचार केन्द्रमा कार्यरत नेपाली सेनाका हवल्दार दलबहादुर सिंजालीले बताए । आफूहरुको उपचार केन्द्रमा भेन्टिलेटर नभएका कारण गंभीर अबस्थाका विरामीहरुलाई उपचार गर्न समस्या भइरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्