बिर्तामोड , असोज २४ । बिर्तामोड– १ हनुमान नगरस्थित हनुमान मन्दिर परिसरमा नवरात्रको अवसरमा नवदुर्गा भवानीको पूजा अर्चना, चण्डीपाठ एवं दैनिक सन्ध्याकालीन भजन कीर्तन सत्संग आयोजना गरिएको छ ।

गत असोज १७ गते घटस्थापनाका दिनदेखि महानवमीसम्म दैनिक सो कार्यक्रम सञ्चालन भइरहेको छ । हनुमान मन्दिरले पहिलो पटक दुर्गा पूजा आयोजना गरेको मन्दिर समितिका उपाध्यक्ष तुलसीराम खरेलले बताए । नवरात्रीको सन्ध्याकालीन समयमा प्रख्यात भजन गायिका मिरा कडरियाद्वारा सुमधुर भजनहरु प्रस्तुत भइरहेको छ ।

महासप्तमी पर्वको अवसरमा बिहीवार हनुमान नगरका नगरवासीहरू शङ्ख, घण्टा, कर्ताल ध्वनीको साथ फूलपाती सजाई मुक्ति चोकस्थित दुर्गा मन्दिरमा पुगी त्यहाँबाट फूलपाती तथा जमरा डोलीमा बोकेर भजन कीर्तनको साथ नगर परिक्रमा गर्दै अन्तिममा हनुमान मन्दिर परिसरमा रहेको देवी पूजास्थलमा फूलपाती भित्र्याएको आचार्य प्रकाशचन्द्र रिजालले बताए । आध्यात्मिक जागरणद्वारा समाजलाई सकारात्मक मार्गमा लगाउन यस्तो अभियानले सहयोग पुग्ने पूजा समिति संयोजक सुरज रौनियारले बताए। प्रत्येक मङ्गलबार बेलुकी भजन कीर्तन सत्संग हनुमान मन्दिरमा नित्य रुपमा चलिरहेको मन्दिर समितिका अध्यक्ष नविन सापकोटाले बताए।

समाजसेवी टुङ्गबहादुर बस्नेतको परिवारले प्रदान गरेको १४ धुर जमिनमा सामुदायिक सत्संग भवन एवं जेष्ठ नागरिक चौतारी निर्माण गर्ने अभियानमा समितिले काम गर्न लागेको सचिव गीता खरेल पकुवालले बताइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्