झापा, असोज २६ । बिर्ताबजारको दशै मेलामा ठाउँ नभएपछि सन्थालहरुले बाटोमै नृत्य देखाएका छन् ।

बिर्तामोड– भद्रपुर रोड र बिर्ताबजार जोड्ने पुरानो भद्रपुर रोडमा उनीहरुले मुश्किलले आ–आफ्ना समूहको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । मेलामा नाच देखाउन आठवटा टोली भेला भएकोमा उनीहरुलाई बाटोमा नृत्य देखाउन समस्या भइरहेको थियो । कुनै समूहले नृत्य देखाइरहेका थिए भने कुनै समूहले ठाउँको अभावमा नृत्य देखाउन सकिरहेका थिएनन् । सन्थालहरुले पुरै सडक ढाकेर नृत्य देखाइरहँदा करिव एक घण्टा सडक अवरुद्ध भई ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।

बिर्ताबजारको ऐतिहासिक एवं धार्मिक महत्वको दुर्गा मन्दिरमा परापूर्वकालदेखि दशैको टीकाको दिन मेला लाग्दै आएको छ । अहिलेको शिवालयदेखि पश्चिमपट्टी स्वर्गीय सतानुसिंह राजवंशीले दान दिएको करिव एक विगाह जग्गा खाली रहेको थियो । जहाँ सन्थालहरुले सामूहिक नृत्य देखाउने गर्थे । त्यस जग्गामा अहिले महेन्द्ररत्न मावि र अनारमनी पव्लिक क्याम्पसको भवन बनाइएको छ ।

सोही दुर्गा मन्दिरको लागि डोमालाल राजवंशीले करिव १२ विगाह जग्गा दान दिएका थिए । त्यो जग्गा देवी गुठीमा रहेका व्यक्तिहरुले मासिसके । यसरी ऐतिहासिक मठमन्दिर र मन्दिरका जग्गा मासेर आदिवासीहरुले दान दिएको जग्गा जमिनसंगै उनीहरुको संस्कार,संस्कृति र पहिचान नष्ट गर्ने गलत प्रवृति बढ्दै गएको बिर्तामोड–३ सैनिकमोडका सूर्य राजवंशी गुनासो गर्छन् । बिर्ताबजारको मात्र होइन ,गरामनीको दुर्गा मन्दिरको जग्गा पनि मासिएको छ । ठाउँकै अभावमा गरामनी मेला घट्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्