झापा, असोज २७ । गरामनीमा लागेको दशै मेलामा पकेटमारको विगविगी देखिएको छ ।

मेला भर्न आएका धेरैजनाको नगद र सरसामान चोरी भएको हो । पहिलो महिला रिक्सा चालक फूलमाया धिमालको पाँच हजार रुपैयाँ चोरी भएको छ । आफूले गोजीको मुख पिन्सोले सिएर गोजीभित्र राखेको पाँच हजार रुपैयाँ पकेटमारले चोरी गरेको उनले मेला व्यवस्थापन समितिलाईं जानकारी दिइन् ।
त्यस्तै मेचीनगर चारआलीकी लक्ष्मी श्रेष्ठको नगद चोरी भएको छ । पकेटमारले श्रेष्ठको नगदसहितको पर्स चोरी गरेका थिए । नगद झिकेर पर्स भने भुइँमा फ्याकिदिएका थिए । नागरिकता , खोपकार्डलगायतका कागजात रहेको सो पर्स प्रहरीले फेला पारी श्रेष्ठलाई जिम्मा लगाएको छ ।
त्यस्तै पुजा राजवंशीको मोबाइल चोरी भएको छ भने चन्दा यादवको नगद , नागरिकता, मोबाइल रहेको पर्स चोरिएको छ । त्यस्तै पीडितहरुले अस्थायी प्रहरी चौकी गरामनीमा पनि जानकारी गराएका छन् । मोबाइल चोरी भएको दुईवटा मौखिक र एउटा लिखित जानकारी आएको अस्थायी प्रहरी चौकी गरामनीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चन्द्रकान्त रायले बताए । उनले धेरैजनाको चोरी भएको जानकारी आएपनि कसैलाई पनि पक्राउ गर्न नसकिएको बताए ।

मेला व्यवस्थापन समितिले माइकिङ गरी पकेटमारदेखि सावधान रहन आग्रह गरेको थियो । मेलामा अस्थायी प्रहरी चौकी गरामनी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलधापबाट सुरक्षाकर्मी खटिएका थिए । त्यस्तै बिर्तामोड नगरपालिकाका नगर प्रहरी पनि परिचालन गरिएको थियो । माइकिङ गरी पकेटमारदेखि सावधान रहन आग्रह गर्दागर्दै धेरैजनाको नगद र सरसामान चोरी भएको बिर्तामोड– ८ का वडाध्यक्ष अजय कार्कीले बताए ।
गरामनीमा बडादशैको एकादशीका दिन भव्य मेला लाग्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष मेला भर्नेहरुको संख्या घटेको पाइएको थियो ।