झापा, असोज २७ । झापा जिल्लामै सन्थाल नृत्यका लागि प्रचलित बिर्तामोड– ८ स्थित गरामनीको ऐतिहासिक एवं धार्मिक मेलामा यस वर्ष सन्थाल नृत्यको आकर्षण घटेको छ ।

विगतका वर्षमा १५–२० वटा सन्थाल नृत्य टोलीले नृत्य देखाएर मनोरंजन प्रदान गरेकोमा यस वर्ष मात्र पाँचवटा टोली सहभागी भएपछि मेलाको रौनकता घटेको हो । दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समिति र मेला व्यवस्थापन समितिले पत्राचार नगरेपछि सन्थाल टोलीहरु नआएका हुन् । मेलामा बिर्तामोडका टोलीहरुको समेत सहभागिता देखिएन । नेतृत्वले जिम्मेवारी पूरा नगर्दा यो अवस्था आएको बिर्तामोड– ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले अर्को वर्षदेखि सन्थाल नृत्यकै लागि वडा कार्यालयबाट एक लाख रुपैयाँ छुट्याउने घोषणा गरे । परम्परादेखि सन्थालहरुले नाच देखाउँदै आएको दुर्गा माध्यमिक विद्यालयको खेल मैदानलाई मासेर टहरा निर्माण गरिएकोमा त्यसलाई आफ्नै नेतृत्वमा भत्काएर ठाउँ खाली गर्ने उनले चेतावनी दिएका छन् ।

मेलामा सहभागी पाँचवटा टोलीमध्ये बिहानी सन्थाल युवा क्लब कन्काई– ४ कालीमुढा प्रथम हुँदै २० हजार नगद पुरस्कार जितेको छ । त्यस्तै दोस्रो भएको राजगढ जुवान क्लब बाह्रदशी– २ ले १५ हजार नगद पुरस्कार पाउँदा जियड झरना सन्थाल युवा क्लव कचनकवल– ५ तेस्रो भएको छ । उसले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै पाथीभरा सन्थाल युवा क्लब हल्दिवारी– ४ र हल्दिवारी– ४ कै पाथीभरा सन्थाल नृत्य समूह सान्त्वना भएका छन् । उनीहरुले पाँच–पाँच हजार नगद पुरस्कार पाएका छन् ।

विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष अजय कार्की , दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिका अध्यक्ष दीपक पाण्डे , समाजसेवी चिरन्जीवी कार्की , लालीगुराँस अंग्रेजी स्कुलका प्रिन्सिपल उदय कटुवाल ,मेला व्यवस्थापन समितिका अध्यक्ष नवीन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । मेला व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृष्ण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्